इन्स्टाग्रामका संस्थापकले कम्पनी छाडे,बेचेका थिए फेसबुकलाई


एजेन्सी । इन्स्टाग्रामका दुबैजना संस्थापकले कम्पनी छाडेका छन् । फेसबुक स्वामित्वको इन्स्टाग्राम स्थापना गर्ने केभिन सिस्ट्रोम र माइक क्रिगरले फोटो शेयरिङका लोकप्रिय सोसल मिडिया साइट इन्स्टाग्राम कम्पनी छाडेका हुन् ।

सन् २०१२ मा फेसबुकले इन्स्टाग्रामलाई १ अर्ब डलरमा खरीद गरेको थियो । अहिले इन्स्टाग्रामका एक अर्ब भन्दा धेरै प्रयोगकर्ता छन् ।

कम्पनीका मूख्य कार्यकारी सिस्ट्रोमले आफ्नो जिज्ञासा र सिर्जनशीलताको पुनः अन्वेषण गर्न कम्पनी छाड्न लागेको बताएका छन् ।

पछिल्लो समय यी दुई संस्थापक र मातृ कम्पनी फेसबुकको व्यवस्थापनबीच खटपट चलिरहेको हल्लाका बीच दुबैजनाले कम्पनी छाड्नुले हल्लालाई पुष्टि गरेको छ ।

इन्स्टाग्रामका सिइओ ३४ वर्षका सिस्ट्रोम र प्रमुख प्राविधिक अधिकृत ३२ वर्षीय क्रिगरले सन् २०१० मा फोटो शेयरिङ एप इन्स्टाग्राम सुरु गरेका थिए । फेसबुकले अधिग्रहण गरिसकेपछि इन्स्टाग्रामले आफ्नो मौलिकता कायम राख्दै झनै लोकप्रियता हासिल गरिरहेको छ ।

समाचार अनुसार संस्थापकद्वयले सोमबार मात्रै फेसबुक व्यवस्थापनलाई आफुहरुले कम्पनी छाड्न लागेको जानकारी गराएका हुन् । आफ्नो ब्लग पोष्टमा सिस्ट्रोमले भनेका छन्स् हामी नयाँ अध्यायका लागि तयार छौँ । नयाँ चिजको सिर्जना गर्दा केही पछाडि सर्नु, के कुराले आफूलाई उत्प्रेरित गर्छ भन्ने कुराको पहिचान गर्नु र दुनियाले के चाहन्छ भन्ने कुरासँग सामाञ्जस्यता मिलाउन आवश्यक पर्छ ।

सन् २०१४ मा फेसबुकले ह्वाट्सएप खरीद गरेसँगै जुकरबर्ग र सिस्ट्रोमबीच मतभेदको सुरुवात भएको बताइन्छ । त्यतिबेला फेसबुकले १९ अर्ब डलरमा ह्वाट्सएप खरीद गरेको थियो । सिस्ट्रोम यतिधेरै महंगो खरीदप्रति सन्तुष्ट थिएनन् । इन्स्टाग्रामलाई फेसबुकबाट स्वतन्त्र रुपमा सञ्चालन गर्नुपर्ने उनको धारणा थियो तर जुकरबर्गले इन्स्टाग्राममा व्यवस्थापकीय मात्र होइन फिचरका हिसाबले पनि फेसबुकसँग धेरै घुलमिल गराए । कार्यकारी पदहरुका कर्मचारी फेसबुकबाट सरुवा गरी इन्स्टाग्राममा लगिएपछि सिस्ट्रोमको भूमिका तथा नेतृत्वलाई झनै कमजोर बनाइएको थियो ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top