निर्मलाका आमा–बुबासँग गृहमन्त्री बादलले भने– हत्यारा नजिक पुगिसकेका छौं

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा नजिक पुगिसकेको र दोषीलाई कठघरामा ल्याउने प्रयास जारी रहेको बताएका छन् ।

निर्मलाका आमा र बुबासहितको प्रतिनिधिमण्डलालाई आजै गृहमन्त्रालमा भेटेका गृहमन्त्री थापाले भने, ‘दोषीलाई कठघरामा ल्याउन नसक्दा जति पीडा गृहमन्त्रीलाई हुन्छ, त्यति अरुलाई हुँदैन होला ।’

गृहमन्त्री थापाले भने, ‘निर्मलामाथि भएको जघन्य घटनाका बारेमा हामीले सुरुदेखि नै ध्यान दिएका हौं । घटनालगत्तै स्थानीय प्रहरीलाई अनुसन्धानका लागि निर्देशन दिइयो । त्यसपछि केन्द्रबाट सिआईबी टोली पठायौं । त्यसले पनि अपराधीबारे निष्कर्ष दिन नसकेपछि उच्चस्तरीय छानविन समिति गठन गरिएको हो ।’ समितिबाहेक पनि छुट्टै ढङ्गले थप अनुसन्धान भइरहेको गृहमन्त्री थापाले जानकारी दिए ।

दोषी पहिचानको नजिक पुगे पनि पत्ता लाग्न नसक्दा सबैभन्दा बढी असन्तुष्ट आफू रहेको पनि भेटका क्रममा थापाले बताए ।

सो घटनामा जिम्मेवार निकाय तथा व्यक्तिबाट भएका लापरवाहीलाई छुट नदिइने स्पष्ट पार्दै गृहमन्त्री थापाले भने, ‘दोषी छिटो पत्ता नलाग्दा परिवारलाई चिन्ता हुनु स्वाभाविक हो । दोषी पत्ता लगाउन तपाईंहरु (परिवार)को समेत साथ लिएर अघि बढ्ने छौं ।’

निर्मलाका आमा, बुबाले घटना भएको लामो समय बित्दा समेत दोषी पत्ता लाग्न नसकेको, प्रहरीबाट विगतमा राम्रो साथ नपाएको गुनासो गर्दै छिटोभन्दा छिटो अपराधी पत्ता लगाउन गृहमन्त्रीलाई आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *