काठमाडौँ ।युटुबमा अश्लिल दृश्य सहितको प्रोमो प्रदर्शन भैरहेको भन्दै फिल्म ‘कथा काठमाण्डु’को प्रोमो युटुबबाट हटाउन चलचित्र विकास बोर्डले निर्देशन दिएको छ । निर्माण कम्पनि आहान फिल्मसलाई पत्राचार गर्दै बोर्डले युआरएल समेत उल्लेख गर्दै दृश्यलाई हटाउन निर्देशन दिदै त्यसो नगरिए कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

नायिका प्रियंका कार्की र नायक प्रमोद अग्रहरिविचको अन्तरंग दृश्यप्रति बोर्डले आपत्ति जनाएको हो । तर बोर्डले पत्राचारमा उल्लेख गरेको युआरएल भने फिल्म ’कथा काठमाण्डु’ को अफिसियल च्यानल हाइलाइटस नेपालको भने होइन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई समेत बोदार्थ गरिएको पत्रमा अन्य युट्युब च्यानल मार्फत अपलोड गरिएको र स्वयम् च्यानलको ब्यक्तिले आफ्नै किसिमले मिक्सिङ गरिएको भिडियोलाई आधार मान्दै कारवाही समेत गर्न सकिने गरि बोर्डले गरेको पत्रमा निर्माण पक्षले आपति जनाएको छ । त्यस किसिमका अन्य युट्युब च्यानल र केहि अनलाइन पोर्टलमा अपलोड गरिएको सामाग्री प्रति निर्माण पक्षले आपति जनाउदै यस अघि नै सम्बन्धित निकायमा त्यस किसिमका दृश्यलाई हटाउन लिखित निवेदन समेत दिईसकेको छ ।

असोज १२ मा रिलिज हुने यसफिल्ममा प्रियंका कार्की, आयुष्मान डिएस जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीको मुख्य भूमिका छ । आहाना फिल्मःको ब्यानरमा निर्माण भएको फिल्ममा विजय राइको लगानी छ । फिल्ममा गायिका इन्दिरा जोशी पनि विशेष भूमिकामा देखिदैछिन । फिल्मलाई लुजा सिंहले खिचेका हुने भने यसलाई मित्र गुरुङले सम्पादन गरिरहेका छन् । भारत रेग्मीको कलर र भीएफएक्स रहेको फिल्मको पटकथा भने निर्देशक श्रेष्ठले नै लेखेकी हुन् ।
