जाममा फसेको ‘एकता’ को गाडी

महान् जनयुद्धको बलिदानीपूर्ण इतिहासलाई पैतालाले कुल्चेर संसदीय राजनीतिप्रति प्रतिबद्धता जनाएका कारण जनयुद्धकालका इमानदार सहयात्रीहरूले साथ छोडेपछि सङ्गठनात्मक रूपबाट एकदमै कमजोर देखिएको नेकपा (माओवादी केन्द्र) ले नेपाली काङ्ग्रेसको पुच्छर समातेर वैतरणी पार गर्ने प्रयासमा अपेक्षित सफालता प्राप्त गर्ने स्थिति नदेखेपछि प्रचण्डले एमालेसित हात अघि बढाए । वैचारिक दृष्टिले आफ्नै लाइनमा आइपुगेको र साङ्गठनिक दृष्टिले कमजोर बनेको प्रचण्ड समूहलाई आफूले चाहेअनुसार चलाउन सकिन्छ, मज्जाले जोत्न सकिन्छ भनेर एमालेले पनि चुनावी राजनीतिक जोडघटाउका साथ प्रचण्डसित हात  बढायो । चुनावी तालमेल पार्टीएकताको स्थितिसम्म पुग्यो । यस किसिमको तारतम्य मिलाउन खासखास बाह्य शक्तिहरू लागि परेको भनिए पनि हिसाबकिताब र राजनीतिक व्यापारव्यवसायमा माहिर प्रचण्डले काङ्ग्रेसको पछि लागेर भन्दा एमालेसित आत्मसमर्पण गर्दा नै आफूलाई बढी फाइदा हुने ठानी पार्टीलाई एमालेमा मिसाउने ‘ऐतिहासिक’ निर्णय गरे ।

पार्टी एकता भने पनि यो विलय नै थियो । विलयको यस प्रक्रियालाई लिएर निकै ठूलो होहल्ला गरियो । कम्युनिस्टहरू एक भए, नेपालमा कम्युनिस्टको दुईतिहाईको सरकार बन्यो भनेर देशभित्र मात्रै होइन, देशबाहिर पनि हल्ला गरियो । नेपालमा बनेको चीनपरस्त कम्युनिस्टहरूको सरकार भारतका लागि खतरा र चुनौती भनेर भारतीय संस्थापन नजिकका माध्यमहरूले निकै होहल्ला मच्चाए । सि जिपिङको नजिकको प्रकाशन  ग्लोबल टाइम्सले पनि कम्युनिस्ट पार्टीहरूको एकता भन्दै सरकार निर्माणको विषयप्रति सकारात्मक भावमा समाचार प्रकाशित गर्यो  । तर, यो न त कम्युनिस्टहरूको सरकार थियो, न त वामपन्थीहरूको सरकार नै, यो वाम खोल ओढेको, कम्युनिस्ट नामधारी संसदवादीहरूको सरकार थियो । एक हिसाबले नव-प्रतिक्रियावादमा पतन भइसकेकाहरूको सरकार थियो ।

जेजस्तो भ्रम दिए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणसँगै यो भ्रम तोडियो र ओली सरकारको सच्चा अनुहार सबैका सामु छर्लङ्ग भयो । अहिले पनि कम्युनिस्ट सरकार समाजवादी बाटोमा प्रतिबद्ध छ भनेर भ्रम दिने काम एकातिर भइरहेको छ भने अर्कोतिर भरिसक्के  नेपालका क्रान्तिकारीहरूलाई संसदीय व्यवस्थाका सामु आत्मसमर्पण गराउने र यसो गर्न नसके दमन गर्ने भनेर ओली सरकारले अनेक तारतम्य मिलाइरहेको छ । 

माओवादी केन्द्र र एमालेबीचको एकताप्रक्रियासँगै मालेमावादी क्रान्तिकारीहरूका सामु दुइटा जिम्मेवारी र चुनौती थिए र अहिले पनि छन् : एउटा प्रचण्ड-ओलीका पार्टीहरूबीचको एकता कम्युनिस्ट एकता होइन, वामपन्थी एकता पनि होइन,  यो त कम्युनिस्ट पार्टीका नाममा संसदवादी राजनीतिमा पतन भएकाहरूको एकता हो,  यो कदापि कम्युनिस्टहरूको केन्द्र बन्न र  हुन सक्तैन भन्ने यथार्थलाई आम जनताका सामु प्रस्ट पार्नु र अर्को सापेक्षित रूपमा क्रान्तिकारीका रूपमा रहेका पार्टी र समूहहरूबीच एकता अभियान चलाउँदै  क्रान्तिकारी केन्द्र निर्माणको आवश्यकतालाई व्यवहारमा लैजानु ।

यो सरकार सामान्य सुधारवादी सरकार पनि होइन र यो राष्ट्रिय स्वाधीनताप्रति पनि गम्भीर छैन भन्ने कुरा   सरकार स्वयंका  गतिविधि र व्यवहारले प्रस्ट पारेका छन् । जहाँसम्म क्रान्तिकारीहरू एकताबद्ध हुने र नयाँ केन्द्र बनाउने कुरा छ,  यसले  पनि अपेक्षित गति लिन सकेको स्थिति छैन । वस्तुगत स्थितिले मालेमावादका पक्षधरहरूबीचको एकतामा जोड दिन्छ । तर पार्टीहरूबीचको एकता र क्रान्तिकारी केन्द्र निर्माणको काम जाममा फसेको गाडीको स्थितिझैँ भएको छ । जतिसुकै गतिमा चले पनि जाममा परेपछि कसैको केही लाग्दैन भने अझ गाडी नै खटारा भएपछि हालत नै खराब हुने कुरा आफैँमा प्रस्ट छ । ठेलेर अलिकति अघि बढायो, कहिले के बिग्रिन्छ र कहिले के बिग्रिन्छ ।  इमानदारीपूर्वक भन्दा क्रान्तिकारी भनिएका पार्टीहरूबीचको एकताको स्थिति यस्तै किसिमको छ ।

क्रान्तिकारीहरूबीच एकताको कुरा गर्दा मोहन बैद्यको नेतृत्वमा रहेको नेकपा (क्रान्तिकारी माओवादी ) र नेकपा-बिप्लवका बीचको एकताको कुरा  प्राथमिकतामा रहुनु स्वाभाविक छ । बिप्लव समूहका कार्यकर्ताझैँ एकता गर्दा पहिलो प्राथमिकता बिप्लव समूह नै हुनुपर्छ भन्ने बुझाइ नेकपा (क्रान्तिकारी माओवादी) का अधिकांश कार्यकर्ताहरूमा पनि रहेको पाइन्छ । एकता प्रक्रियालाई अघि बढाउने सन्दर्भमा जल्दाबल्दा  समस्याहरूलाई लिएर कार्यगत एकताका साथ अघि बढ्ने भनेर समझदारी पनि बन्यो । अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम नेकपा (क्रान्तिकारी माओवादी), नेकपा-बिप्लव, नेकपा (मसाल) ले संयुक्त रूपमा मनाए ।  खास गरेर राष्ट्रियता र जनजीवीकाका प्रश्नहरू, सहिद दिवस तथा जनयुद्ध दिवस सँगै मनाउने समझदारी भयो र यसमा विषय र सन्दर्भका आधारमा मोहनविक्रम र ऋषि कट्टेलसमूहसित पनि समझदारी भएर केही कार्यक्रमहरू साझा किसिमले सम्पन्न भए । गत वर्षको नेकपा (क्रान्तिकारी माओवादी) को पोखरा सम्मेलन र सोही समयमा भएको नेकपा-बिप्लवको केन्द्रीय समितिको बैठकको सेरोफेरोमा नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा-बिप्लवबीच एकताप्रक्रियालाई लिएर विशेष छलफल भएका कुराहरू पनि प्रकाशमा आए ।  परन्तु, मोहनविक्रमले एमालेसित चुनावी तालमेल गरेको स्थिति, नेकपा (क्रान्तिकारी माओवादी) को पोखरा सम्मेलनले चुनावको ‘क्रान्तिकारी उपयोग’ गर्ने निर्णय गरेको अवस्था र नेकपा-बिप्लवले चुनाव खारेजको निर्णय गरेको अवस्थामा एकताप्रक्रिया ओझेलमा पर्नु स्वाभाविक भयो ।

चिन्तन र व्यवहार दुवै दृष्टिले  नेकपा-बिप्लव क्रान्तिकारीहरूबीचको एकता भन्दा आफ्नै किसिमले अगाडि जाने पक्षमा देखिएको कुरा एकतासम्बन्धी उसका धारणाले प्रस्ट पारेका छन् । तर पनि उसले एकता र वार्ता आवश्यक छैन भनेर घोषणा गरेको छैन ।  यस अर्थमा पनि  एकताको गाडी जाममा फसेको छ भन्न खोजिएको हो  ।

सबैलाई समेट्नुपर्छ भन्ने मनसायले कट्टेलको नेतृत्वमा रहेको नेकपासित पनि कुराकानी अघि बढाइए पनि कट्टेल समूह वैचारिक रूपबाट प्रस्ट नभएको, चुनाव आयोगमा पार्टी दर्ता गराएको र सङ्गठनात्मक दृष्टिले पनि अत्यन्त कमजोर भएकाले त्यसलाई बढी महत्व दिनु आवश्यक छैन भनेर बैद्य तथा बिप्लवकै कार्यकर्ताहरूबाट प्रश्न उठिरहेको सन्दर्भमा  वैचारिक रूपबाट मोहन विक्रम पनि एमालेकै लाइनमा गएकाले उसलाई पनि अनावश्यक महत्व दिनुको आवश्यकता र अर्थ छैन भनेर बैद्य र बिप्लवका पार्टीहरूभित्र प्रश्न उठिरहेको अवस्था  हो ।  नेकपा (क्रान्तिकारी माओवादी)  भित्र एकताप्रक्रियामा आएको रामसिंह श्रीसलगायतको माओवाद नमान्ने र जनयुद्ध बेठीक थियो भन्ने समूह भने जसरी पनि मोहनक्रिमसिंहसित एकता गरेर पार्टीमा जनयुद्ध विरोधी र माओवाद विरोधीहरूको वर्चस्व कायम गरेर जनयुद्धको विरासत बोकेकालाई कमजोर बनाउने ध्याउन्नमा थियो । यो कुरा पनि नेकपा (क्रान्तिकारी माओवादी) का अधिकांश कार्यकर्तालाई मन परेको थिएन र होइन  ।  मोहनविक्रमले कागजमा जे लेखे पनि सो समूह एमालेको नयाँ संस्करण बनिसकेको स्थिति हो । वास्तवमा कट्टेल तथा मोहनबिक्रमसित एकताका नाममा समय खेर फाल्नु भनेको  समयको बर्बादी मात्र हो  । उनीहरूका  इमान्दार कार्यकर्तालाई ध्रवीकरणसित जोड्न  सकिए पनि  पार्टी एकता नै गर्नु भनेको सारतः दक्षिणपन्थी अवसरवादमा फस्नु हुन्छ । पछि मोहनविक्रमले विभिन्न सन्दर्भहरू उल्लेख गर्दै एकता र साझा समझदारी निर्माण गर्ने प्रक्रियाबाट अलग रहेको लिखित घोषण गरे  ।उनले अँगालेको बाटोअनुसार यसो गर्नु अनौठो कुरा होइन  । 

यसरी एकताको कुरा गर्दा नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा-बिप्लवबीचको एकतालाई नै प्राथमिकतामा राख्नु सही हो  । एकतासम्बन्धी गरिएका प्रयासहरू हेर्दा  नेकपा (क्रान्तिकारी माओवादी)  इमानदारीपूर्वक लागेको देखिए पनि नेकपा-बिप्लवमा त्यो इमानदारी र गम्भीरता रहेको कुरा बोध हुन सकेन । नेकपा-बिप्लवले एकता नभएर धु्वीकरणमा जोड दिँदै अन्य समूहहरू उसकै नीति, योजना कार्यक्रम र कार्यदिशामा आउनु पर्ने अवधारणा अघि सार्यो  । अमुकअमुकलाई नेता मान्न सकिने तर, समग्र नीति योजना र कार्यदिशा उसको मान्नु पर्ने भन्नुको अर्थ खास समूह नेकपा-बिप्लवमा विलय हुनु नै हुन्थ्यो । नेपाली समाजको वर्ग विश्लेषणमा समस्या, क्रान्तिको चालक शक्तिसम्बन्धी समस्या, नयाँ जनवादी क्रान्ति सम्पन्न भइसकेको भन्दै समाजवादलाई न्यूनतम कार्यक्रम मान्ने मनोगत सोचाइ,  उत्तर-साम्राज्याद अर्थात् साम्राज्यवादको अन्त्य भयो भन्ने मार्क्सवाद विरोधी बुझाइ र अमूर्त कार्यदिशा (‘एकीक्रित क्रान्ति’ कार्यदिशा नै होइन) जस्ता  गम्भीर वैचारिक विचलनका बाबजुद पनि नेकपा (क्रान्तिकारी माओवादी ) ले वार्ताका सन्दर्भमा छलफल गर्दै अघि बढ्दै जाने र समस्या पनि हल गर्दै जाने भनेर प्रयासलाई निरन्तरता दिए पनि एकता-प्रक्रियाले  गति लिन सकेन । नेकपा-बिप्लवमा निहित, आफ्नो विचार मौलिक र नयाँ भन्ने बडप्पन, आफूहरू आन्दोलनमा धेरै अघि बढेको भन्ने अहम् र एक्लेवीर प्रवृत्ति नै एकताप्रक्रियाका लागि बाधक रहेको कुरामा विवाद छैन । सत्य अथवा झूट के हो प्रस्ट छैन तापनि  वार्ताका क्रममा आफूहरू जनयुद्धको समयको २०५६ को माओवादी पार्टीको स्थितिमा पुगेको भनेर बिप्लव समूहबाट धारणा प्रकट भएको भन्ने कुराहरू  पनि चर्चामा आएका हुन् । यो भनेको आफूहरू रणनीतिक सन्तुलनको स्थितिमा पुगेको भन्ने भनाइ हो । चिन्तन र व्यवहार दुवै दृष्टिले  नेकपा-बिप्लव क्रान्तिकारीहरूबीचको एकता भन्दा आफ्नै किसिमले अगाडि जाने पक्षमा देखिएको कुरा एकतासम्बन्धी उसका धारणाले प्रस्ट पारेका छन् । तर पनि उसले एकता र वार्ता आवश्यक छैन भनेर घोषणा गरेको छैन ।  यस अर्थमा पनि  एकताको गाडी जाममा फसेको छ भन्न खोजिएको हो  ।

नेकपा-बिप्लवले चाहिँ समस्या आफ्नो समूहमा नभएर  नेकपा (क्रान्तिकारी माओवादी) भित्र रहेको भन्ने गरेको छ  । बाहिर आएका टिप्पणीअनुसार नेकपा (क्रान्तिकारी माओवादी) मा एक थरीले बिप्लवसमूहसितको  एकतामा जोड दिएको, अर्काथरी बिप्लवसितको एकताप्रति उदासीन रहेको र मोहनविक्रमसित एकता गर्न उत्साहित रहेको भन्ने छ, त्यस्तै एक थरी चाहिं एकताप्रक्रियाप्रति नै उत्साहित नभएको भन्ने पनि छ । यथार्थ जे-जस्तो रहे पनि अहिलेसम्मको एकतावार्तामा कहिले पार्टी महासचिव र पोलिटब्युरो सदस्य इन्द्रमोहन सिग्देल र कहिले पार्टी महासचिव र रामसिंह श्रीस सहभागी भएको र  किरणपछिका नेता गौरव कुनै पनि वार्तामा सहभागी नभएको कुरा चाहिं  चर्चामा आएको विषय हो  । वार्तामा को जाने भन्ने कुरा पार्टीले तय गर्ने हुनाले यस किसिमको टिप्पणीको अर्थ छ जस्तो लाग्दैन   ।  र पनि दुवै समूहका स्थायी समिति सदस्य बसेर एकता वार्ता गर्ने भन्ने कुरा पछिल्लो समयमा  सुन्नमा आएको हो  ।   पछिल्लो समयमा ओली सरकारले   नेकपा-बिप्लवका प्रवक्तासहित सो समूहका नेताहरूको व्यापक धरपकड र दमनका गरेका कारण  एकतावार्ताको गति र स्थितिबारे जानकारी हुने स्थिति रहेको छैन  ।

एकताका सम्बन्धमा नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा-बिप्लवबीच साझा धारणा र खाका बनाएर छरिएर रहेका व्यक्ति तथा समूहसित एकताप्रक्रियालाई अघि बढाउनु नै अहिलेको सही कदम  हुन्छ । अहिलेसम्मको स्थिति हेर्दा नेकपा-बिप्लवकै कारण एकताको गाडी जाममा फसेको हो भनेर भन्न सकिन्छ । आफ्ना गल्ति-कमजोरीको समीक्षा गर्न र सच्याउन नचाहने प्रवृत्ति मार्क्सवादसित मेल खाँदैन  ।  सो समूहमा रहेको नेपाली क्रान्तिसम्बन्धी गलत बुझाइ, अहम् र एक्लेवीर प्रवृत्ति नै एकताको बाधक हो भन्ने ठहर यस टिप्पणीकारको रहेको छ । बिप्लव समूह सहभागी हुने स्थिति नरहेमा एकताको प्रस्ट धारणा र खाकासहित छरिएर रहेका अन्य समूह र व्यक्तिलाई समेट्ने कुरालाई प्राथमिकता दिँदै अघि बढ्नु नै वैज्ञानिक र  वस्तुवादी सोचाइ  हुन्छ । अन्यथा  सबैको नियति भनेको विसर्जन नै हो । विसर्जनको स्थितिबाट बिप्लव समूह पनि बच्ने स्थिति हुँदैन, एक्लेवीर प्रवृत्तिले पुर्याउने ठाउँ त्यहीँ नै हो ।  क्रान्तिका दुस्मनहरू क्रान्तिकारीहरूबीच एकता नहोस् भन्ने चाहन्छन्, एक्लाएर सिध्याउन चाहन्छन् ।  ओली सरकार एकातिर राष्ट्रिय स्वाधीनाताप्रति खेलवाड गरिरहेको छ र अर्कोतिर संसदीय राजनीति अस्वीकार गर्नेहरूप्रति आशहिंष्णु बन्दैछ भन्ने कुरालाई क्रान्तिकारी भनिएकाहरूले नबुझेका होलान् भन्न सकिन्न । 

सजिलोको लागि एकता प्रक्रिया भनिए पनि सारत: यो कम्युनिस्ट न्युक्लिअस, नेपालले भनेझैं ”माओवादी आन्दोलनको पुनर्गठन अभियान” नै हो । र पुनर्गठन अभियानको जग मओवाद र जनयुद्धको विराशत हुनु आवश्यक छ । साथै यसले १० बर्से जनयुद्धको मात्र नभएर त्यसपछिको १२ बर्सको पनि वैज्ञानिक समीक्षाको माग गर्दछ । यसरी गरिएको एकता र यसरी बनेको क्रान्तिकारी केन्द्रले  मात्र  दिगो स्वरूप ग्रहण गर्नसक्छ । बिप्लवहरूबाट त गल्ती-कमजोरी  भएकै छन्, प्रचण्डसित सम्बन्ध विच्छेद गरेपछि कमरेड किरणका सामु चुनौती र अवसर दुवै थिए, केही जटिलता भए पनि, समयले वहाँका सामु महान् अवसर प्रदान गरेको थियो, यसलाई सही ढंगले दिशाबोध गर्न/ गराउन नसक्नु वहाँका  समस्या रहे भन्ने पनि यस टिप्पणीकारको ठहर छ । स्थितिको सही किसिमले आकलन गर्नु नै जाममा फसेको गाडीलाई गति र दिशा दिने उपाय हो । क्रान्तिकारीहरूबीचको एकता पछि हटाइ होइन, बरू क्रान्तिको तयारी हो । छिनछिनमा  इन्जिन बन्द भएर  ठेलेर जाम पार गर्नुपर्ने गाडीमा  मान्छेहरू लामो अवधिसम्म बसिरहँने स्थिति हुँदैन भन्ने कुरा पनि सत्य हो ।

(यि लेखकका निजी बिचार हुन् – सं)

Leave a Reply

Your email address will not be published. Required fields are marked *