काठमाडौँ । निर्मला पन्त हत्याकाण्डका दोषी बचाउन र घटना ढाकछोप गर्न प्रहरी नै सक्रिय रहेको भन्दै उनका आफन्तले कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख एसपी डिल्ली बिष्ट र डिएसपी ज्ञानबहादुर सेठीको डिएनए परीक्षण गर्न माग गरेका छन्।
प्रहरीले दोषी भनेर सार्वजनिक गरेका दिलीप बिष्ट निर्दोष ठहर भएपछि स्थानीयले दोषी बचाउन निर्दोष फसाउने प्रहरी अधिकारी नै घटनामा संलग्न रहेको आशंका मजबुत भएको बताएका छन्।
‘एसपी बिष्ट, डिएसपी सेठी र सिआइबीका डिएसपी अंगुर जिसीलाई निलम्बन मात्र होइन, हिरासतमा राखेर अनुसन्धान गरिनुपर्छ, उनीहरूका कल डिटेल हेरिनुपर्छ,’ निर्मलाका मामा केशव भण्डारीले भने, ‘एसपी बिष्ट र डिएसपी सेठीको डिएनए पनि परीक्षण गरिनुपर्छ।’
निर्मलाका आफन्तले अनुसन्धानमा खटिएका प्रहरी टोलीलाई हिरासतमा राखेर अनुसन्धान गर्न पनि माग गरेका छन्। एसपी बिष्ट, डिएसपी जिसीलगायतका अनुसन्धानमा संलग्न प्रहरी टोलीलाई हिरासतमा राखेर अनुसन्धान गरेमात्र निर्मला हत्याको दोषी पत्ता लाग्ने उनकी आमा दुर्गादेवीले बताएको समाचार आजको नागरिक दैनिकमा छ।
‘४८ दिनसम्म मेरी छोरीको हत्यारा पत्ता लागेको छैन। निर्दोषलाई फसाएर दोषी बचाउने प्रहरी नै मेरी छोरीको हत्यामा संलग्न छन्,’ दुर्गादेवीले भनिन्, ‘प्रहरीभित्रका मान्छेलाई हिरासतमा राखेर अनुसन्धान गरेमात्र छोरीको हत्यारा पत्ता लाग्न सक्छ।’