संक्षेपमा भदौ २६ गतेका मुख्य समाचारहरुः विष्टसँगै बम दिदी बहिनी रिहा-सन्दीपले अफगानिस्तान प्रिमियर लिग खेल्ने

काठमाडौं, २७ भदौ । आज पनि हामीले तपाईमाझ गत भदौ २६ गते (हिजो) सम्प्रेशन गरिएका विभिन्न मुख्य समाचारहरुलाई संक्षेपमा प्रस्तुत गरेका छौं ।

१. कायस्थको जग्गा कीर्ते गरी अर्कै व्यक्तिको नामसारीमा संलग्न नौ जना पक्राउ

काठमाडौं , २६ भदौ । प्रहरीले बूढानीलकण्ठ नगरपालिका–५ का चन्दनकृष्ण कायस्थको जग्गा कीर्ते गरी अर्कै व्यक्तिको नामसारीमा संलग्न मालपोत कार्यालय चाबहिलका कर्मचारीसहित नौ जनालाई आज पक्राउ गरेको छ ।

जग्गा कीर्तेमा संलग्न मालपोत अधिकृत खगेन्द्रप्रसाद अर्याल, नासु रञ्जनकुमार खरेल, जमुनाकुमारी श्रेष्ठ र रघुनाथ तिमिल्सिनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले जनाकारी दिए । त्यस्तै प्रहरीले जग्गा कीर्ते गरी अर्कै व्यक्तिको नामसारीमा संलग्न बिचौलिया ध्रुवप्रसाद भट्टराई, श्रीकृष्ण देवकोटा, प्रदीपप्रसाद गौतम, श्रीकृष्ण बडुवाल र सानुभाइलाई समेत पक्राउ गरेको छ ।

मालपोतका कर्मचारीको मिलेमतोमा उनीहरुले गौतमको नाममा जग्गाधनी कायस्थको नक्कली वारेसनामा बनाई कित्ता नं ३२९ को एक रोपनी नौ आना तीन पैसा, कित्ता नं ३२५ को आठ आना एक पैसा र कित्ता नं ३२३ को छ आना जग्गा भट्टराई र बडुवालको नाममा पास गरेका थिए ।
पक्राउ परेका नौ जनालाई लिखतसम्बन्धी कसूर र सङ्गठित अपराध मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उपरीक्षक लामाले बताए ।

२. व्यापारी पौडेलको अपहरणपछि हत्या

दमक, २६ भदौ । झापाको कमल गाउँपालिका–६ मङ्गलबारेका ३३ वर्षीय कपडा व्यापारी खेमराज पौडेल गौरीगञ्जमा मृत फेला परेका छन् ।

गौरीगञ्ज वडा नं– ६ बाहसुद्दीस्थित विनोद यादवको धानखेत नजिक नालामा आज बिहान उनको शव फेला परेको गौरीगञ्ज इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिए ।

घटनास्थलमा मे ७ प १९०४ नं को मोटरसाइकल, मोबाइल, ब्याग समेत फेला परेको छ । सोमबार बेलुका पौडेल र उनकी श्रीमतीसँगै गौरीगञ्ज बजार आएका थिए । साँझ करीब ६ बजेतिर श्रीमतीलाई एक नास्ता पसलमा एक छिन बस्नु भनी हिडेका पौडेल राति ९ बजे मात्र अपहरणमा परेको खबर आएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।

प्रहरीले राति अबेरसम्म पौडेलको खोजी गरेपनि फेला पार्न सकेको थिएन । मृतक पौडेलको घाँटी र टाउकोमा छुरा प्रहार भएको जनाइएको छ । उक्त घटनामा प्रहरीले एक युवकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

३. न्यायाधीश जोशी सर्वोच्च फर्किए

काठमाडौँ, २६ भदौ । प्रस्तावित प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिले नाम अनुमोदन नगरेपछि बिदामा बस्नुभएका न्यायाधीश दीपकराज जोशी आजबाट सर्वोच्च अदालतमा काममा फर्केका छन् ।

जोशीको संसदीय सुनुवाइ समितिले गत साउन १८ गते प्रस्तावित प्रधानन्यायाधीशका लागि सुनुवाइ गरेको थियो । सुनुवाइपछि जोशी बिदामा बसेका थिए । सोमबार साँझ नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई स्वागत गर्नका लागि न्यायाधीश जोशी सर्वोच्च अदालत आएका थिए ।

न्यायाधीश जोशी आजदेखि सर्वोच्च अदालतमा काममा फर्कनुभएको सर्वोच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायले जानकारी दिए । जोशी काममा फर्कनु भए पनि उहाँको नाममा मुद्दाको पेशी भने तोकिएको छैन ।

४. सन्दीपले अफगानिस्तान प्रिमियर लिग खेल्ने

काठमाडौँ, २६ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग (एपिएल) खेल्ने भएका छन् ।

आइतबार भएको खेलाडी छनोटमा उनलाई नङराहार टोलीले छनोट गरेको हो । लिगमा पाँच टोली सहभागी हुनेछन् । सन्दीप रहेको टोलीमा आन्द्रे रसल, तामिम इकबाल, मुजिब रहमान, बेन कटिङ, नाजिबुल्लाह तरकाइ, मिसेल मक्लीनघन, मोहमद हफिज, मुस्फिकुर रहिम, रहमत साह, नवीन उल हक र जाहिर खान छन् । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र तीव्र गतिका बलर सोमपाल कामी भने छनोट हुन सकेनन् ।

प्रतियोगिताको नियम अनुसार कम्तीमा एउटा एशोसियट खेलाडीलाई प्रत्येक टोलीले राख्नुपर्ने प्रावधान थियो । प्रतियोगिता आगामी असोज १९ देखि कात्तिक ४ गतेसम्म युनाइटेड अरब इमिरेट्स (युएई)मा हुनेछ । सन्दीपले यसअघि इण्डियन प्रिमियर लिग (आइपिएल), क्यान्डाको ग्लोबल टी–२० र वेस्ट इण्डिजको राष्ट्रिय लिग खेलिसकेका छन् ।

५. निर्मला हत्या प्रकरणः डिएनए नमिलेनपछि विष्टसँगै बम दिदी बहिनी रिहा

कञ्चनपुर । गत साउन १० गते बलात्कारपछि निर्मम हत्या गरिएकी निर्मला पन्तको घटनामा संलग्न भनी भदौ ४ गते पक्राउ गरी ५ गते सार्वजनिक गरिएका दिलिप सिंह बिष्टलाई मंगलबार रिहा गरिएको छ ।

अभियुक्त भनिएका दिलिप सिंह बिष्टको डिएनए रिपोर्ट मेल नखाएपछि आज बिष्टलाई रिहाई गरिएको हो । बिष्टलाई सार्वजनिक गरेपछि स्थानीय आन्दोलित भएका थिए । आन्दोलनका क्रममा थप १ जनाको मृत्यु भएको थियो ।

आन्दोलनका क्रममा स्थानीयले आरोप लगाएका आँचल बम र अनिता बम लाई समेत आजै रिहाई गरिएको छ । आँचल बम र अनिता बम लाई प्रहरीले यस अघि नै पक्राउ गरी सोधपुछ गरिरहेको थियो । दिलिप बिष्टका दाजु खडक सिंह बिष्टलाई जमानी राखी रिहाई गरिएको र आँचलका बुवा दिपेन्द्र बहादुर बम आँचलको जमानत बसेका थिए भने अनिता लाई ३० हजार धरौटीमा रिहाई गरिएको छ ।

एसपी कुवेर कडायतले पक्राउ गरिएका हरुलाई २५ दिन भित्र अनुसन्धान गरिसक्नु पर्ने नियम भएको र दिलिप सिंह बिष्टको डिएनए रिपोर्ट नेगेटिभ आएकाले उनलाई पक्राउ गरिराख्नु पर्ने कारण नभएकाले रिहाई गरिएको बताए । बम दिदी बहिनीहरुमाथि अनुसन्धान अझै चलिरहने एसपी खडायतले बताए ।

६. जापान सरकारद्वारा ‘फुलकुमारी महतो अस्पताल’लाई ‘मोवाईल क्लिनिक-कार’ हस्तान्तरण

काठमाडौं, २६ भदौ । जापान सरकारले सिरहास्थित फूलकुमारी महतो मेमोरियल अस्पताललाई ‘मोवाईल क्लिनिक कार’ उपलब्ध गराएको छ ।

नेपालका लागि जापानी राजदुत मासासीशी ओगावाले आज काठमाडौंमा एक कार्यक्रमका बीच फूलकुमारी महतो मेमोरियल अस्पतालका मेडिकल डाईरेक्टर डा. शिवशंकर साहलाई ‘मोबाईल क्लिनिक कार’ हस्तान्तरण गर्नु भएको हो ।

बिरामीको घरमै गएर उपचार गर्न सकिने विशेषज्ञ सेवा समेत उपलब्ध हुने व्यवस्थासहितको कार नेपालका लागि अति उपयोगी हुने अस्पतालको विश्वास छ । औषधि, चिकित्सक र बिरामीहरुलाई केयर गर्ने एउटा बेडको समेत व्यवस्था गरिएको सो क्लिनिक कार अस्पतालले मध्य तराईका सिरहा, सप्तरी, उदयपुर, सिन्धुली र घनुषाका विरामीहरुको सेवामा परिचालन गर्ने योजना बनाएको छ ।

७. सवारी साधन खरिदका लागि सहुलियत कर्जा प्रवाह गर्न नसकिने अर्थमन्त्री खतिवडाको भनाई

काठमाडौँ, २६ भदौ । अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले सवारी साधन खरिदका लागि भनेर सहुलियत कर्जा प्रवाह गर्न नसक्ने बताएका छन् ।

नेपाल अटो मोबाइल्स डिलर्स सङ्घको आयोजनामा भृकुटीमण्डपमा आजदेखि शुरु भएको ‘नाडा अटो सो’ तथा प्रदर्शनी शुभारम्भ गर्दै उनले सर्वसाधरणले आम्दानी गरेर सक्षम भएपछि मात्र सवारी साधन खरिद गर्नुपर्नेमा जोड दिए ।

देशमा नयाँ प्रकारका सवारी साधन आयात भइरहेको र धेरै सवारी साधन बिक्री हुँदा राजश्व सङ्कलनमा पनि वृद्धि हुने जानकारी दिँदै उनले भने, “सवारी साधन अहिले पनि विलासीे वस्तु हो, यसमा लाग्ने भन्सारका साथै अन्य कर छुट गर्न सकिँदैन, यसबाट प्राप्त हुने रकमले सडक, पूर्वाधार तथा सामाजिक विकासका परियोजना सञ्चालन गर्नुपर्छ ।”

विद्युतीय सवारी साधन, ठूला सार्वजनिक सवारी साधनको आयात तथा कर भने छुट गर्न सकिने उनकोे भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *