चीन र पाकिस्तानको कस्सिदो गाँठो

 चीन र पाकिस्तानले सबै रणनैतिक महत्वका सहयोगका क्षेत्रहरुलाई समेट्ने गरी अघि बढ्ने मन्जुरी जनाएका छन् । गत ८ सेप्टेम्बरमा पाकिस्तानको राजधानी इश्लामावादमा चिनियाँ विदेश मन्त्री वाङ ई र नवनियुक्त पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरैसीबीच भएको भेटघाट को दौरान यो तथ्य बाहिर आएको सिन्ह्वा न्युज एजेन्सीले जनाएको छ ।

भेटमा चिनियाँ विदेशमन्त्रीले गत जुलाईमा सफलतापूर्वक सम्पन्न भएको पाकिस्तानी चुनावप्रति सन्तोष व्यक्त गर्दै पाकिस्तानी जनताको इच्छाको कदर चीन र चिनियाँ जनताले गरेको स्पष्ट पारेका थिए ।

सो अवसरमा विदेशमन्त्री वाङले चीन पाकिस्तानको असल साथि, असल साझेदार र असल छिमेकीको नाताले सदैब अडिग ढंगले पाकिस्तानको पक्षमा रहेको बताएका थिए । वाङले लामो समयदेखिको पारस्पारिक सहयोग, समझदारी र विश्वासमा आधारित सम्बन्धमा राजनीतिक पार्टी र सरकार फेरिदैमा कुनै आँच नआउने विश्वास पाकिस्तानी पक्षलाई गराएका थिए । उनले यसलाई अझै अघि बढेर चीन – पाकिस्तानको सम्बन्ध ‘आइरन ब्रदर’को रुपमा स्थापित भैसकेको कुरा समयले प्रमाणित गरेको छ भनेका थिए ।

उनले पाकिस्तानसँगको सम्बन्धलाई चीनको ‘पहिला छिमेकी’ नीतिमा पनि प्राथमिकता क्रममा अगाडी रहेको बताउन भुलेनन् ।  ‘चीन पाकिस्तानको नयाँ सरकार लाइ दृढतापुर्वक समर्थन गर्छ, पाकिस्तानको नयाँ विकाससम्बन्धि लक्ष्यलाई राम्ररी बुझ्दछ, चीन पाकिस्तान इकोनोमिक करिडोर ( सिपेक )लाई अझै दह्रो किसिमले आपसी विश्वास र समन्वयात्मक तवरबाट सफल कार्यान्वयन गर्न चाहन्छ’ विदेशमन्त्री जोड दिदै भने ।

उक्त अवसरमा पाकिस्तानी विदेशमन्त्री कुरैसीले ‘पाकिस्तान र चीन सबैभन्दा विश्वसनीय साझेदार र मित्र हुन्, यो सम्बन्धमा सरकार फेरिदैमा कुनै असर नगर्ने’ बताएका थिए । उनले  नयाँ पाकिस्तानी सरकार चीन पाकिस्तबीचको विशेष प्रकारको सम्बन्ध र सबै मौसमको रणनैतिक साझेदारीको पूर्ण समर्थन गर्छ र चीनसँगको सम्बन्ध पाकिस्तानको लागि कोशे ढुंगा रहेको महशुस गर्छ’ भनेका थिए ।

‘चीनको खास हित चीनसँग सम्बन्धित कुनै पनि मुद्दामा पाकिस्तानले सदैव पूर्ण रुपले चीनको समर्थन गर्छ । साथै पाकिस्तानको राष्ट्रिय सुरक्षा र अखण्डताको पक्षमा चिनियाँ सरकार सदा झैँ हाम्रो पक्षमा खडा छ भन्ने हाम्रो बिश्वास छ’,  कुरैसीले बिशेष जोड दिदै भने । पाकिस्तानी पक्ष चीनको आर्थिक विकास , गरिबी निवारण , प्राकृतिक प्रकोपको ब्यबस्थापन , भ्रष्टाचार बिरोधी अभियान , वातावरण संरक्षण आदि गतिविधीबाट अत्यन्त प्रभावित छ र चीनबाट अनुभव बटुल्न तयार छ भन्दै कुरैसीले चीन पाकिस्तान इकोनोमिक करिडोर पाकिस्तानको उच्च प्राथमिकतामा रहेको स्पष्ट पारेका थिए ।

पाकिस्तान चीनको आतंकबाद बिरोधी अभियानको साझेदार बन्न इच्छुक रहेको बताउदै पाकिस्तानी विदेशमन्त्रीले रक्षा मामिलामा आपसी समन्वय र सहयोग अझ मजबुत होस् भन्ने आफूले चाहेको कुरैसीले बताएका थिए । संयुक्त प्रेस कन्फरेन्समा दुवै देश १० बुदे समझदारी मा पुगेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *