रिम्समा कविता प्रतियोगिता, अनुज्ञा प्रथम


काठमाडौँ / युवा कवि मोतीराम भट्टको १५३ औं जयन्तीको अवसरमा रिडर्स इन्टरनेसनल मोडेल स्कुल (रिम्स)ले आशु कविता प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा एम्बिसन एकेडेमीको तर्फबाट सहभागी अनुज्ञा नेपालले प्रथम स्थान हासिल गरेकी छन् ।

गोकर्णेश्वर नगरपालिका-८, जोरपाटीस्थित विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा ३५ वटा विद्यालयका छात्रछात्राबीच प्रतिस्पर्धा भएको थियो । मोती जयन्तीको अवसरमा आशु कविता लेखनसम्बन्धी प्रशिक्षण, कविता लेखन तथा वाचन कार्यक्रमको आयोजा गरिएको हो । कथाकार भागीरथी श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा साहित्यकारद्वय रमेश शुभेच्छु र शेखर दाहालले प्रशिक्षक तथा निर्णायक मण्डलको भूमिका निर्वाह गरेका थिए । सोही कार्यक्रममा आयोजक विद्यालयका विद्यार्थीबीच भएको आन्तरिक प्रतियोगितामा युरिका खातीको कविता पुरस्कृत भयो ।

प्रतियोगितामा अनुज्ञा नेपालको “मेरा हिमाल” शीर्षकको कविता प्रथम, विनसम इंगलिस बोर्डिङका छात्र सितल बानियाँको “सगरमाथा” शीर्षकको कविता दोस्रो र अरुणिमा माविका छात्र शिशिर घिमिरेको “मेरा नसुल्झिएका प्रश्न” शीर्षकको कविताले तेस्रो स्थान हासिल गर्न सफल भए । विपुल शिक्षा निकेतनकी छात्रा हिमा खतिवडा र मनाकामना माविका छात्रा नान्दवी लामिछानेले सान्त्वना पुरस्कार प्राप्त गरे । प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान हासिल गर्ने प्रतियोगीहरुलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरियो ।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तथा आख्यानकार श्रेष्ठले विद्यार्थीहरुलाई निरन्तर साधना र अनुशासनमा ध्यान दिन आग्रह गरिन् । आयोजक रिम्सका प्रिन्सिपल बालमुकुन्द कार्कीले हारिन्छ कि जितिन्छ भन्दा पनि सिकिन्छ भन्ने उदेश्यले सहभागी हुनुपर्ने र पुरस्कारभन्दा सिकाइ ठूलो हुने उल्लेख गरे । रिम्सले मोती जयन्तीको अवसरमा विगत बाह्र वर्षदेखि निरन्तर गर्दै आएको कार्यक्रमलाई दिनमा पनि निरन्तरता दिने उनले बताए ।

साहित्यकारहरु, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी तथा सञ्चालकहरुको सहभागिता रहेको कार्यक्रममा विभिन्न स्रष्टाले आआफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *