भदौ २३ गतेका मुख्य समाचारहरुः हेलिकोप्टर दुर्घटनादेखि तीजको दर खाएर काभ्रेमा ३ सय ७९ जना बिरामीसम्म

काठमाडौं, २४ भदौ । आज पनि हामीले तपाईमाझ भदौ २३ गते सम्प्रेशन गरिएका विभिन्न मुख्य समाचारहरुको सारांस प्रस्तुत गरेका छौं । भदौ २३ गते पनि विभिन्न समाचारहरु सम्प्रेशन भएका छन् ।

भदौ २३ गतेकै दिन । घरेलु टोली बंगलादेशलाई स्तब्ध तुल्याउँदै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । त्यस्तै गोरखाको सामागाउँबाट यात्रु लिएर काठमाडौँ फर्कंदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटना भएको छ ।

सारांसमा निम्नानुसार छन् भदौ २३ गते सम्प्रेशन गरिएका मुख्य समाचारहरुः

१. बंगलादेशलाई स्तब्ध तुल्याउँदै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं, २३ भदौ । घरेलु टोली बंगलादेशलाई स्तब्ध तुल्याउँदै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल समूह ए बाट विजेताका रुपमा सेमिफाइनलमा पुगेको हो ।
ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा करिव २० हजार घरेलु समर्थकलाई निराश तुल्याउँदै नेपालले बंगलादेशमाथि २–० गोलअन्तरको जित निकाल्न सफल भयो । पहिलो खेलमा पाकिस्तानसँग २–१ ले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई ४–० गोलले पराजित गरेको थियो ।

नेपालको जितमा नेपालका स्टार स्ट्राइकरहरु बिमल घर्तीमगर र नवयुग श्रेष्ठले एक एक गोल गरे । खेलको ३३औं करिव ४० यार्ड टाढाबाट स्टार स्ट्राइकर बिमल घर्तीमगरले प्रहार गरेको बल शानदार गोलमा परिणत हुँदा नपालले अग्रता लिएको थियो ।

बंगलादेशका गोलरक्षक साहिदुल अलाम सोहेलले राम्ररी कलेक्ट गर्न नसकेको बल गोलमा परिणत भएको थियो ।

२. प्रधानमन्त्रीको सरकारी निवास वालुवाटरको दोहन रोकिएन

काठमाडौं, २३ भदौ । प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका बैठक र अन्य सामान्य गतिविधिले बढवा पाउँदा बेला–बेलामा आलोचनात्मक टिप्पणी हुने गरेको छ । तर, त्यसले प्रधानमन्त्रीकै तहसम्म प्रभाव पार्न सकेको छैन् ।

प्रधानमन्त्रीको समय, सुरक्षासहित अन्य व्यवस्थापकीय कारणले कतिपयले यसलाई ‘जायज’ भन्ने तर्क गर्छन् । तर, प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा सरकारी स्रोत–साधनमा भइरहेको ‘दोहन’ कुनै पनि कोणबाट पाच्य मानिदैन । तर, देख्नेलाई पनि लाज लाग्ने गरि प्रधानमन्त्रीबाटै भइरहेको राज्यको दोहनको दृश्यले प्रधानमन्त्री निवास बालुवाटारको गरिमा धमिलिन थालेको छ ।

दुई कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्यूनिष्ट पार्टीको पहिलो बैठक प्रधानमन्त्रीको सरकारी निवासमा बोलाउनु राष्ट्रिय सम्पत्तिको दुरुपयोगको एक उदाहरण थियो । बैठकका लागि ठाउँ भएन भनेर प्रधानमन्त्री निवासलाई नै पार्टी कार्यालयजस्तै बनाउनु उचित र स्वाभाविक दुवै थिएन ।

३. अध्यक्ष प्रचण्ड र मोदीबीच भेटवार्ता, धार्मिक शक्तिपीठको ‘सर्किट’ बनाइने

काठमाडौँ, २३ भदौ : भारत भ्रमणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पमकल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता भएको छ ।

भेटका अवसरमा उहाँहरुबीच पछिल्लो समयमा भएका दुई प्रधानमन्त्रीको भ्रमण, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन, दुई देशका आपसी हित र विकास निर्माणका सम्भावनाबारे छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

नेपालमा जलविद्युत्को विकास, हुलाकी मार्ग, रेलवे निर्माण, जलमार्ग, कृषिमा आधारित उद्योग र पर्यटन क्षेत्रको विकासको विषयमा समेत उहाँहरुबीच छलफल भएको थियो ।

४. आइतबार हुने भनिएको अन्तर प्रदेश परिषद्को वैठक स्थगित

काठमाडौं, २३ भदौ । प्रदेशका मुख्यमन्त्रीहरुले संघीय सरकारको चर्को आलोचना गरेपछि आइतबार हुने भनिएको अन्तरप्रदेश परिषद्को बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीचको दूरी बढ्दै गएर आरोप प्रत्यारोपमा उत्रिएपछि अन्तरप्रदेश परिषद्को बैठक नै स्थगित गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यमन्त्रीहरुले संघीय सरकारको आलोचना गरेकोमा असन्तुष्टि जनाउँदै अन्तरप्रदेश परिषद्को बैठक स्थगित गरिएको हो ।

५. सामागाउँबाट यात्रु लिएर काठमाडौँ फर्कंदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटना

काठमाडौँ, २३ भदौ : गोरखाको सामागाउँबाट यात्रु लिएर काठमाडौँ फर्कंदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएकाको शव आइतबार बिहान काठमाडौँ ल्याइने भएको छ ।

घटनास्थलबाट शव सङ्कलन गरी उद्धारमा गएको हेलिकप्टर अवतरण भएको स्थानसम्म ल्याइसकिएको र मौसमले साथ दिए आइतबार बिहान हेलिकप्टरमार्फत शव काठमाडौँ ल्याइने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

गोरखाबाट काठमाडौँ आउँदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर नुवाकोटको मेघाङ गाउँपालिकामा आज बिहान दुर्घटना हुँदा त्यसमा सवार सातमध्ये छजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा हेलिकोप्टरका पाइलट निश्चल केसी, जापानी नागरिक हिरोमी कोमात्सु (राहदानी नम्बर टिके ७१३६१२०६८), रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हीरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–१ का छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ छन् ।

दुर्घटनामा एक मात्र यात्रु आनी डोल्मा बाँच्न सफल भएकी थिइन् । डोल्माको मेडिसिटी अस्पताल ललिपुरमा उपचार भइरहेको छ ।

६. बेगनास तालमा डुङ्गा दुर्घटना, दुईको मृत्यु, पाँच बेपत्ता

लेखनाथ, २३ भदौ : कास्कीको बेगनास तालमा आज डुङ्गा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् ।

पोखरा महानगरपालिका–२८ कालीका घर भएकी ५२ वर्षीया कृष्णकुमारी बजगाईं र पोखरा–३१ बेगनास घर भएकी ३२ वर्षीया जमुना कँडेलको डुङ्गा दुर्घटनामा परी मृत्यु भएको इलाका प्रहरी कार्यालय शिशुवाका प्रहरी निरीक्षक किरण रावतले जानकारी दिए ।

बजगाईंको लेखनाथ सामुदायिक लायन्स अस्पताल र कँडेलको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । डुङ्गा गन्तव्यमा पुग्नु भन्दा करिब दुई सय मिटर वर नै दुर्घटनाग्रस्त भएको हो ।

डुङ्गामा नौ जना सवार रहेका थिए । दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा नवलपरासीको गैँडाकोट घर भएका ३२ वर्षीय रवि खनाल, उनकै छोरा सात वर्षीय शङ्कर र आठ वर्षीय शिव खनाल, पाँच वर्षीय प्राचीन पौडेल र १७ वर्षीया मनिसा बजगाईं रहेकी छन् । खनाल नेपाली सेनामा कार्यरत रहेका थिए ।

उनीहरु तीज मान्नका लागि वेगनासताल पारि घर भएका आफन्त कमल कँडेलको घरमा आएको बताइएको छ । डुङ्गाघाट पुग्न करिब दुई सय मिटर वर लिप्दी भन्ने स्थानमा डुङ्गा दुर्घटना परेको थियो ।

७. तीजको दर खाएर काभ्रेमा ३ सय ७९ जना बिरामी !

काभ्रे, २३ भदौ । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–१२ काँसकोटमा शनिवार भएको तीजको दर खाने क्रममा फुड पोईजन भएर बिरामी हुनेको संख्या ३७९ जना पुगेको छ । उनीहरुको काभ्रेको विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ ।

अहिले अस्पतालमा नै भर्ना भएर उपचार गराईरहेकाहरुको संख्या १३५ जना रहेको छ । विरामी मध्ये धुलिखेल सामुदायिक अस्पतालमा ८६ जनाको उपचार भईरहेको र उनिहरुको अवस्था सामान्य रहेको अस्पतालका डाक्टरले जानकारी गराएका छन ।

पाँचखाल नगरपालिका–१२ काँसकोटमा रहेको ग्रामीण स्वाबम्वन बहुउद्धेश्यीय सहकारी संस्था लि.ले शनिवार आयोजना गरेको तीज विशेष दर खाने कार्यक्रममा दर खाने क्रममा सो घटना भएको हो ।

बनेपा स्थित शिरमेमोरियल अस्पतालमा उपचार भई भईरहेका ५६ जना मध्ये दुई जना आईसियूमा राखेर उपचार भईरहेको अस्पतालका डाक्टरले जनाएका छन् ।


शनिवार दिउँसो भएको कार्यक्रममा दर भोज खाने क्रममा शनिवार विहानैदेखि विरामी भएकोहरुको संख्या बढ्दै गएको र उपचार लागि आवश्यक प्रक्रियाहरु थालनी गरेसँगै स्वास्थ्य विभाग लगायतका टोलीले घटनास्थलको अवलोकन गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *