मालपोत र नापीमा ‘दलाल’को रजाईँ

सरोज बस्नेत / मोरङ ।
मोरङको बेलबारी मालपोत र नापी कार्यालयमा ‘दलाल’हरुको रजाईँ हुने गरेको पाइएको छ । सरकारले भ्रष्टाचारलाई ‘शून्य सहनशीलता’ मा राख्ने भने पनि मालपोत र नापी कार्यालय भ्रष्टाचार र भ्रष्टाचारीको अखडा बन्दै गएको हो ।मालपोत तथा नापी कार्यालयका कर्मचारीदेखि ‘दलाल’ सम्म सेवाग्राहीसँग रकम असुल्ने गरेका छन् । कतिपय कर्मचारीले ‘दलाल’ मार्फत रकम लिने गरेका छन् भने कतिले स्वम् आफैले ‘सेटिङ’ मिलाएर रकम बुझ्ने गरेको पाइएको छ ।

नापी कार्यालयमा कम्प्युटरमा नक्सा बनाउने कर्मचारीले समेत १ सयदेखि ५ सय रुपैयाँसम्म सेवाग्राहीमार्फत असुल्ने गरेका छन् । उनीहरुले रकम नपाए कामसमेत नगर्ने गरेको एक सेवाग्राहीले बताए । कर्मचारीले भनेअनुसारको रकम नदिए हुने कामका लागि पनि पटक–पटक कार्यालय धाउनुपर्ने र अरुको तुलनामा आफ्नो काम ढिलो हुने तथा अनावश्यक सास्ती पाइने हुनाले रकम दिन बाध्य हुनुपर्ने सेवाग्राहीहरु बताउँछन् ।

कर्मचारीहरुले लेखापढी व्यवसायीहरुलाई प्रयोग गरेर सेवाग्राहीसँग घूस लिन छाडेका छैनन् । लेखापढी व्यवसायीहरुले मालपोत र नापीका कर्मचारीहरुलाई पैसाको प्रलोभनमा पारी काम गराइरहेका छन । सेवाग्राही स्वम्ले लगेका फाइलहरु घण्टौंसम्म कर्मचारीले वास्तै गर्दैनन् । तर, लेखापढी ब्यवसायी र ‘दलाल’ ले पु¥याएका फायल लाइनमै नबसी भित्रैबाट काम हुने गरेका कारण बाध्य भएर सेवाग्राहीहरु लेखापढी ब्यवसायीहरुको शरणमा पुग्नु पर्ने बाध्यता छ ।

सम्बन्धित निकायले मालपोत तथा नापी कार्यालयमा भइरहेको ब्यापक भ्रष्टाचारलाई रोक्न नसक्दा सेवाग्राही समस्यामा परिरहेका छन् । लेखापढी ब्यवसायीले कर्मचारीसँग सेटिङ मिलाउनेदेखि छिटो काम गराउनेसम्मको ठेक्का लिन्छन् । र, सोही अनुसारको रकम असुल्ने गरेका छन् । सेवाग्राहीसँग कस्ता सेवाका लागि कति शुल्क लिइरहेका छन् भन्ने कुराको आधिकारिक ज्ञान मालपोत र नापी कार्यालयका कर्मचारीसम्मलाई थाहा हुँदैन । दैनिक रुपमा मालपोत तथा नापी कार्यालयमा काम गर्ने सामान्य देखि माथिल्ले तहसम्मका कर्मचारीले राम्रै रकम भेट्ने गरेको जानकार स्रोत बताउँछ ।

उर्लाबारीमा पनि ‘दले’ कै हालिमुहाली

इलाका प्रशासन कार्यालय उर्लाबारीमा पनि ‘दलाल’ कै हालिमुहाली हुने गरेको पाइएको छ । प्रशासन कार्यालय अगाडि नै बसेर ‘दलाल’ हरुले सेवाग्राहीहरुलाई बार्गेनिङ गरिरहेका हुन्छन् । कोही नौलो मान्छे प्रशासन कार्यालय पुगे ‘दलाल’ले गेटबाहिरै सहयोगी जस्तो भूमिका खेलेर सेवाग्राहीलाई आफ्नो पकडमा पार्ने गरेका छन् । प्रशासन कार्यालय अगाडि नै अड्डा जमाएर बसेका ‘दलाल’ हरु कर्मचारीसँग सेटिङ मिलाएर सेवाग्राहीबाट रकम असुल्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *