पोल्याण्डसँग श्रम समझौता गर्न उपप्रधामन्त्री पोखरेलसँग माग

काठमाडौं। पोल्याण्डमा बसोबास गर्दै आएका गैरआवासीय नेपालीहरूले औपचारिक भ्रमणमा पोल्याण्ड गएका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई पोल्याण्डसँग श्रम सम्झौता गर्न माग गरेका छन् ।

शुक्रबार नेपाली समुदायले गरेको अन्तरक्रिया कार्यक्रममा रहेका नेपाली समुदायका अगुवाहरुले नेपाल सरकारसँग श्रम सम्झौता नभएकाले ठूलो नेपाली समुदायलाई विभिन्न समस्या परेको जानकारी गराएका छन् ।

गैरआवासीय नेपाली संघ पोल्याण्डका अध्यक्ष डा। एलिना पोखरेल सुवेदीले पोल्याण्डसँग नेपालको श्रम सम्झौता नभएकोले नेपाल आवतजावत गर्ने कठिन भएको भन्दै परिवार ल्याउन समेत कठिनाई भएको बताएकि थिइन ।

उनले उपप्रधानमन्त्री पोखरेलको भ्रमण नेपालको तर्फबाट अहिलेसम्मकै उच्च तहको भ्रमण भएकोले यसमा उचित पहलकदमी हुने विश्वास समेत व्यक्त गरेकि थिइन ।

अन्तरक्रिया कार्यक्रममा नेपाली समुदायले भोग्नु परेका समस्या समेटिएको ४० बुँदे ज्ञापनपत्र उपप्रधानमन्त्री पोखरेललाई बुझाएका थिए । नेपालीहरु पोल्याण्ड जानुपर्दा भिषा आवेदन गर्न दिल्ली जानुपर्ने समस्या छ । यसबारेमा उपप्रधानमन्त्री पोखरेलले पोल्याण्ड सरकारसँग औपचारिक रुपमै पहल र प्रर्यत्नप्रति खुसी व्यक्त गरे ।

कार्यक्रममा नेपाली समुदायलाई सम्वोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले पोल्याण्डमा रहेका नेपालीहरुका समस्याको समाधानका निम्ती सरकारले तत्कालै पहल र प्रयत्न अघि बढाउने बताए । उनले नेपालमा राजनीतिक क्रान्ति सम्पन्न भएको बताउदैं अवको सरकारको लक्ष्य आर्थिक विकास र सम्वृद्धि मात्रै रहेकोले त्यसमा सहयोग गर्न नेपाली समुदायलाई आव्हान गरे ।

‘राजनीतिक लडाईको अविभारा पूरा गरेर हामी मुलुकलाई आर्थिक विकास र सम्वृद्धिको यात्रामा अघि बढाउने कुरा गरिरहँदा निश्चय पनि तपाईहरुको साथ र सहयोगको अपेक्षा हामीले गरेका छौं’, पोखरेलले भने, ‘तपाईहरुको लगानी र सीप आफ्नै मुलुकमा प्रयोग गर्नुस र त्यसमा सरकारले त्यसमा तपाईहरुलाई सम्पूर्ण रुपमा सहयोग गर्ने तयार छ ।’

उनले सरकारले अघि सारेको ‘सुखी नेपाली ः सम्वृद्ध नेपाल’को अभियानमा सहयोगी भूमिका खेलिदिन त्यहाँ नेपाली समुदायलाई आव्हान पनि गरे । विदेशमा रहेका नेपालीहरुलाई पार्टी र सिद्धान्तको नाममा विभाजित नभइ एकताबद्ध भएर अघि बढ्न आग्रह समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *