दलालको फन्दामा पर्नु पर्दैन, आफै क्यानाडा जान सकिन्छ

नेपालीहरूलाई कामदार भिसा दिन क्यानाडा तयार भएको भएता पनि नेपाल सरकार र विदेश पठाउने एजेन्टको कारण त्यसलाई मूर्तरुप दिन नसकिएको भन्दै क्यानाडाबासी नेपालीले गुनासो गरेका छन् ।

क्यानाडा नेपाल सम्पर्क समितिका बोर्ड अफ डाइरेक्टर कृष्ण रेग्मीले जनदिशासँग छोटो कुराकानी गर्दै, नेपालबाट क्यानाडा कामदार पठाउने विषयमा त्यहाँका स्थानीय पदाधिकारीसँग आफ्नो बारम्बार कुरा हुने गरेको र उनीहरू सकारात्मक रहेको बताए । तर त्यसविषयमा नेपाल सरकार भने कानमा तेल हालेर बसेको उनको गुनासो थियो । रेग्मीका अनुसार नेपाल सरकारले सकारात्मक पहल लिने हो भने वार्षिक एक लाख कामदार क्यानाडा पठाउन सजिलै सकिन्छ ।

सरकारले क्यानाडामा वैदेशिक रोजगारीको लागि पहल नगरेकै कारणले सयौं नेपाली क्यानाडा जाने लोभमा दलालको फन्दामा पर्ने गरेका छन् । नेपालीहरूले खाडी, मलेसिया जाँदा लाग्ने खर्चमै क्यानाडा जान पाउने अवसर गुमाइरहेको रेग्मीको गुनासो थियो ।

दलालहरूले क्यानाडा लगिदिन्छु भनेर विभिन्न बहानामा पैसा लिएर फरार हुने गरेको विषय नौलो होइन । केही महिना अघि चितवनका मनोज खत्रीले क्यानाडा लैजान्छु भनेर दुई महिलाबाट एक करोड १३ लाख ठगेर भागेका थिए । बुद्ध नगरस्थित वैदेशिक रोजगार विभागले  क्यानाडा लगायत युरोपियन देशमा लगिदिन्छु भनेर सयौंलाई ठगी गर्ने गरिएको बताएको छ ।

यस विषयमा रेग्मी भन्छन्, ‘क्यानाडाको स्थायी बसोबास अनुमति पत्र लिनको लागि कुनै दलालको भर पर्नुपर्दैन । बरू क्यानाडामा काम खोज्नको लागि विभिन्न वेबसाइटहरू हेर्न सकिन्छ । क्यानाडाले आफ्नो देशमा सीपमूलक जनशक्तिको आयात भएको हेर्न चाहन्छ । दक्ष र इमान्दार मान्छेले क्यानडामा बसोबास अनुमतिपत्र र रोजगार पाउन कुनै दलालको भर पर्नु पर्दैन ।’  

Leave a Reply

Your email address will not be published. Required fields are marked *