मुलुकी ‘फौजदारी’ संहिता संशोधनको माग गर्दै ज्ञापन पत्र


उर्लाबारी (मोरङ) , २० भदौ
मुलुकी ‘फौजदारी’ संहिता ऐन २०७४ को केही प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई असर पार्ने देखिएको भन्दै संशोधनको माग गर्दै नेपाल पत्रकार महासंघ प्रदेश १ ले बुधबार ज्ञापन पत्र बुझाएको छ ।


जिल्ला प्रशासन कार्यालय मोरङ र प्रदेश कार्यालय विराटनगर मार्फत नेपाल सरकारलाई मुलुकी फौजदारी संहिता ऐन, २०७४ का विभिन्न दफाका प्रावधानले सञ्चारमाध्यममा प्रकाशित र प्रसारित सामग्रीकै आधारमा सञ्चारकर्मीमाथि गम्भीर अभियोग लाग्न सक्ने अवस्था देखिएकाले संशोधनसहित ज्ञापन बुझाइएको नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष बिक्रम लुइटेलले बताए ।

ज्ञापनपत्रमा ऐनको दफा ४९ को उपदफा ४ र दफा ७० (१) को व्यवस्थाले प्रेस स्वतन्त्रतामा असर पारेको उल्लेख छ । यसैगरी संहिताको भाग ३ अन्तर्गत वैयक्तिक गोपनीयता तथा प्रतिष्ठा विरुद्धको कसुरका दफा २९१ देखि दफा ३०२ सम्मका व्यवस्थाले स्वतन्त्र पत्रकारितामै लगाम लगाउन सक्ने खतरा देखिएकाले संशोधन गर्नुपर्ने, दफा ३०५ मा कसैलाई गाली गर्न नहुने र दफा ३०६ मा बेइज्जति गर्न नहुने प्रावधान पनि सञ्चारमाध्यम र सञ्चारकर्मीविरुद्ध प्रयोग हुनसक्ने देखिएकाले संशोधन गर्नुपर्ने माग गरिएको छ ।

ज्ञापनपत्रमा सञ्चारमाध्यममा समाचार लेखेकै कारण सरकारवादी मुद्दा बनाएर फौजदारी कसुरमा नभइ देवानी कसुरमा राख्नुपर्ने माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *