रजत पदक दिलाउने प्रत्येक खेलाडीलाई नगर परिक्रमा र ५ लाख नगदा सहित सम्मान

काठमाडौँ । राष्ट्रिय सभागृहमा सोमबार एक कार्यक्रमको आयोजना गर्दैएसियाली खेलकुदमा नेपालका लागि रजत पदक जितेको नेपाली प्याराग्लाइडिङ टोलीलाई नगर परिक्रमासहित सम्मान गरेको छ ।कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, राखेप सदस्य सचिव केशवकुमार विष्ट, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ लगायतले ऐतिहासिक पदक विजेता नेपाली टोलीलाई नगदसहित सम्मान गरेको हो ।

राष्ट्रिय खेलकुद परिषदको पुरस्कार कार्यविधि अनुसार एसियाली खेलकुदमा समूह खेलबाट पदक जित्ने खेलाडीले पाउने जनही ५ लाख रुपैयाँ नगद पुरस्कार पाँच प्याराग्लाइडिङ खेलाडीलाई हस्तान्तरण गरिएको हो । त्यस्तै एक मुख्य प्रशिक्षक र दुई प्रशिक्षकले पनि नगद पुरस्कार पाएका छन् ।

नगर परिक्रममा अन्य खेलका खेलाडी तथा पदाधिकारीको उपस्थिति न्यून थियो । विशेष सम्मानसहितको ¥याली त्रिपुरेश्वर, सुन्धारा, महांकाल, रत्नपार्क, पुरानो बसपार्क हुँदै सभागृहमा पुगेर सम्मान कार्यक्रममा परिणत भएको थियो ।

सम्मानपछिको कार्यक्रमलाई सम्मान गर्दै खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले मन्त्रालय, खेलकुद परिषद र खेल संघ सबैको कमी कमजोरी रहेको भन्दै भविष्यमा यसलाई सुधार गरी खेलको बिकासका लागि ऐक्यबद्धताको आह्वान गरे ।

बिमल, युकेश गुरुङ, सुशील गुरुङ, विजय गौतम र विशाल थापा सम्मिलित नेपाली टोलीले पुरुष टिम क्रसकन्ट्री विधामा नेपालका लागि रजत पदक जितेको थियो ।

यसअघि नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद प्रांगणबाट बग्गीमा राखेर नगर परिक्रमा गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *