बेरोजगार भत्ता भन्दा युवालाई रोजगार दिन सरकारलाई सांसदको सुझाव

काठमाडौं ।सांसदहरुले युवालाई बेरोजगार भत्ता दिने व्यवस्था भन्दा आत्मनिर्भर बनाउने प्रावधान सहितको व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छन् ।

रोजगारीको हक सम्बन्धी विधेयक २०७५ माथिको सैद्धान्तिक छलफलमा सहभागी सांसदहरुले बेरोजगार हुनेलाई सय दिन बराबरको निर्वाह भत्ता दिने प्रावधान उपयुक्त भएपनि यसले बेरोजगारीको समस्या समाधान नहुने भन्दै औद्योगिकरण तथा आत्मनिर्भर बनाउने कार्यक्रमलाई प्राथमिकता दिन सुझाव दिएका हुन् ।

विधेयकमा रोजगारीबाट हटाउन नपाइने प्रावधान गलत भएको भन्दै सांसदहरुले खराब काम गर्नेलाई सजायका साथै हटाउन सक्ने प्रावधान पनि राख्नुपर्ने सुझाव दिएका छन् ।

सांसद खगराज अधिकारीले विधेयकमा सैद्धान्तिक श्रम अनुमति पत्र कार्यान्वयन नभएसम्म रोजगारीको हकको कार्यान्वयन नहुने भएकाले त्यसलाई विधेयकमा राखिनुपर्ने बताएका छन् ।

उनले नेपालीले विदेश जाँदा श्रम स्वीकृती लिए जस्तै नेपालमा काम गर्ने विदेशी नागरिकले पनि श्रम अनुमति पत्र लिनुपर्ने विषय विधेयकमा उल्लेख नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

त्यस्तै, सांसद कृष्णभक्त पोखरेलले विधेयकमा भएका व्यवस्था आउँदो ३ गतेबाट नै कार्यान्वयन गर्नुपर्ने भएकाले त्यसका लागि तयारी अवस्थामा रहन सरकारलाई आग्रह गरेका छन् ।

विधेयक माथिको छलफलमा सांसद गौरीशंकर चौधरी एवं सञ्जयकुमार गौतमले रोजगार दिन नसके सरकारले सय दिन बराबरको निर्वाह भत्ता दिने व्यवस्था लाई संसोधन गरी ३६५ दिनकै भत्ता व्यवस्था गरिनुपर्ने धारणा राखे ।

कतिपय सांसदले विधेयकमा न्युनतम रोजगार प्रधान गर्ने भनिएको भएपनि रोजगारीको स्पष्ट परिभाषा नगरिएकाले अन्यौल भएको धारण राखेका छन् भने कतिपयले बेरोजगार भत्ताको व्यवस्था नै उपयुक्त नहुने जनाएका छन् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *