धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य हुन्छ : अर्थमन्त्री

राजविराज । अर्थमन्त्री युवराज खतिवडाले जनताले धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरिने बताएका छन् ।

सप्तरी सदरमुकाम राजविराजमा आज करदाता सेवा कार्यालयको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले तत्काल सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय गरी धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरिने बताएकाहुन् ।“एकल विन्दुबाट कर उठाउनुपर्नेमा धेरै ठाउँमा कर बुझाउनुपर्ने अवस्था आएको छ,” उनले भने, ‘‘अब धेरै दिन यस्तो रहँदैन, एउटै ठाउँमा कर बुझाए पुग्ने बनाउँछौँ ।” उनले करको दायराभन्दा दर बढेकाले कानून बाहिर गएर जथाभावी कर लगाउन नहुने बताएका छन् ।

विदेशी ऋणबाट देशको विकास सम्भव नभएकाले करको दायरा बढाउनुपर्नेमा मन्त्री खतिवडाले जोड दिए ।उनले आम्दानी र क्षमताभन्दा बढी कर नबढाइने दावी गर्दै वास्तविकता नबुझेरै कर बढायो भन्ने हल्ला फैलाइएको हल्ला नफिजाउन आग्रह समेत गरेका छन् । “ स्थानीय तहको विकास गर्नु जरुरी रहेकाले जनताले कर तिर्ने बानीको विकास गर्नु पर्छ, जनप्रतिनिधिले जनताले तिरेको कर सही ठाउँमा सदुपयोग गर्नुपर्छ ।” करको बारेमा जनता सचेत भए त्यसको दुरुपयोग रोकिने उनको भनाइ रहेका छ ।

“कर लगाउने अधिकार स्थानीय तहको भए पनि कानून र ऐनभन्दा बाहिर गएर धान्नै नसक्ने गरी कर लगाउन पाइदैन,” अर्थमन्त्री खतिवडाले भनेका छन् ।

आन्तरिक राजश्व विभागका सचिव शिशिरकुमार ढुङ्गानाले करदाताको सेवालाई दृष्टिगत गरी राजविराजमा करदाता सेवा कार्यालय स्थापना गरिएको र करदाता र करको दायरा बढ्दै गएपछि आन्तरिक राजश्व कार्यालय राजविराजमा स्थापना गरिने जानकारी समेत गराएका छन् । सो अवसरमा अर्थमन्त्री खतिवडाले करदाता सेवा कार्यालयमा आई प्यान नम्बर लिने सेवाग्राही अमृता झा, सुनिता देव र शम्भुनन्द चौधरीलाई प्रमाणपत्र वितरण गरेका छन्। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *