आन्दोलनरत डाक्टरहरु वार्तामा जाने, माग पुरा नभए सामुहिक राजीनामा दिने चेतावनी

काठमाडौँ । सरकारले चिकित्सकहरूलाई वार्तामा बोलाएको छ। नयाँ मुलुकी ऐन २०७५को विरोध गर्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरूलाई सरकारले वार्तामा बोलाएको हो । स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्रकुमार यादवले वार्ताका लागि बिहान ११ बजे चिकित्सकलाई मन्त्रालयमा बोलाएका छन् । डाक्टरहरुले भने वार्तामा गएपनि आन्दोलन जारी राख्ने बताएका छन् ।

नेपाल चिकित्सासंघको आयोजनामा आज देशभरका अस्पतालमा प्रशासनिक काम बन्द गरिएको छ। आइतबार आकस्मिकबाहेक सेवा बन्द गरेर चिकित्सकहरूले नयाँ मुलुकी ऐनमा भएको इलाज व्यवस्थाको विरोध गरेका थिए।
ऐन बनाउँदा आफूहरूलाई एक पटक पनि नसोधिएको र बद्नियतपूर्ण तरिकाले कानुन ल्याएको चिकित्सकहरूको आरोप छ। उनीहरूले अपराध संहिताको दफा २३० देखि २३३ सम्मका व्यवस्था सच्याउनु पर्ने माग गरेका छन् ।

सरकारले भने चिकित्सकहरूले अत्यावश्यक सेवा अवरोध गरेको भन्दै उनीहरूलाई कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको थियो।आइतबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयले आन्दोलनरत चिकित्सकलाई अत्यावश्यक सेवा ऐन अनुसार कारबाही र जरिवानाको चेतावनी दिएको हो।‘यो मौसममा प्राकृतिक प्रकोप बाढी, पहिरो, सरूवा तथा संक्रामक रोगले प्रभावित गर्ने हुँदा देशभरीका सबै स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई कामकाजमा उपस्थित हुन र कुनै पनि किसिमका बन्द हडताल नगर्न र नगराउन अनुरोध छ’ चिकित्सकहरूबाट उठाइएका मागका सम्बन्धमा मन्त्रालयको तर्फबाट आवश्यक पहल भइरहेको भन्दै मन्त्रालयले जारी विज्ञप्तिमा भनिएको छ,‘उल्लेखित क्रियाकलाप गरेर गराएको पाइएमा मन्त्रालयले अत्यावश्यक सेवा ऐनको दफा ४ अनुसार कारबाही गर्नेछ।’

अत्यावश्यक सेवा ऐनको दफा ४ मा ‘निषेध गरिएको हडताल गर्ने वा त्यसमा भाग लिने वा भाग लिइराख्ने व्यक्तिलाई सजाय’को व्यवस्था छ। जसअनुसार यो ऐन अन्तर्गत निषेध गरिएको कुनै हडताल कुनै व्यक्तिले गरेमा वा त्यसमा भाग लिएमा वा लिइराखेमा निजलाई ६ महिनासम्म कैद वा दुई सयसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।

डाक्टरहरुले आफूहरू अन्यायमा परे भन्दै सडकमा आएको र सरकारको चेतावनीले आन्दोलन नरोक्ने बरू सामूहिक राजीनामा दिने बताएका छन् ।डाक्टरहरुले ‘सरकारले यही निहुँमा धरपकड गर्याे भने सामूहिक राजीनामा दिने चेतावनी समेत दिएका छन् । , ‘हामी आज वार्ता पनि गर्छौं सँगै साथीहरूलाई सामूहिक राजीनामा दिन पनिअपिल गर्छौं। उनीहरुको दावी छ ।

चिकित्सासंघका आन्दोलन कार्यक्रम

१.२०७५ भाद्र १८ गते सोमबार देशभरका स्वास्थ्य संस्थाका प्रशासनिक कामहरू बन्द गर्ने।२. २०७५ भाद्र १९ गते मंगलबारदेखि आकस्मिकबाहेकका अन्य अन्तरंग सेवामा विरामी भर्ना गर्ने कार्य बन्द गर्ने।
३.२०७५ भाद्र २० गते बुधबारदेखि आकस्मिक सेवाबाहेकका अन्य अपरेसनहरु बन्द गर्ने।
४.२०७५ भाद्र २१ गते बिहीबारदेखि आकस्मिक सेवाबाहेकका ल्याब तथा रेडियोलोजी सेवाहरु बन्द गर्ने।
५.२०७५ भाद्र २२ गते शुक्रबारदेखि आकस्मिकबाहेककाओपिडी लगायत सम्पूर्ण स्वास्थ्य सेवाहरु संघका मागहरू सम्बोधन नभएसम्म बन्द गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *