कोसी ब्यारेज पीडितद्वारा भारतसँग क्षतिपूर्ति माग

काठमाडौं, १८ भदौ । कोसी ब्यारेजका कारणले सयौँ हेक्टर खेतीयोग्य जमिन कटान भएको र बस्तीमा क्षति पुगेको भन्दै कोसी ब्यारेज पीडितले भारत सरकारसँग दुई अर्ब ५९ करोड रुपियाँ क्षतिपूर्ति माग गरेका छन् ।

नेपाल भारतबीच भएको कोसी सम्झौता विपरीत भारतीय पक्षले ब्यारेजभन्दा दक्षिणतर्फ कोसी नदीको पानी पश्चिम नेपालतर्फ बगाउँदा सप्तरीका जोगनियाँ, हनुमाननगर र गोबरगडा क्षेत्रमा बर्सेनि क्षति हुने गरेको भन्दै कोसी सङ्घर्ष समिति, कोसी विस्थापित समाज र कोसी विस्थापित परिवार समाज सप्तरीले प्रधानमन्त्री, गृहमन्त्री तथा परराष्ट्रमन्त्रीलाई पहल गरिदिन आग्रह गरेका छन् ।

बिमस्टेकको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहेका बेला नेपालस्थित भारतीय राजदूतावासलाई ज्ञापनपत्र बुझाइएको कोसी सङ्घर्ष समितिले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार प्रधानमन्त्री कार्यालयमा दिइएको निवेदनमा भारतीय पक्षले एकलौटी रूपमा कोसी ब्यारेजदेखि दक्षिण पश्चिम नेपालतर्फ पानी डो¥याएर पठाउने गरेकोले ६२५ हेक्टर खेतीयोग्य जमिन कटान भएको र बस्ती डुबानमा पर्दा अन्नपात, लुगाकपडा क्षति भएको उल्लेख छ । सन् १९९० देखि २०१८ सम्मको क्षतिबापत भारतसँग सो रकम माग गरिएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *