धार्मिक अनुष्ठानका साथ भित्र्याइयो गौरा

धनगढी, १८ भदौ । गौरा पर्व मनाइने प्रदेश नं ७ का पहाडी तथा तरार्इका जिल्लामा ‘गौराघर’ र मन्दिरमा गौरा भित्र्याइएको छ । आइतबार साँझ धार्मिक अनुष्ठानका साथ विधिपूंर्वक गौरा भित्र्यार्इ पूजा(आराधना गरिएको छ । साथै बटुक, खीर, पुरीलगायत स्थानीय मिष्ठान्नका साथ गौरा पर्वको महत्वपूर्ण चाँड सप्तमी (गौरा भित्र्याउने दिन) मनाइएको छ ।

यो पर्व मनाउन व्रतालु महिलाले धान, साउँ, कुस, तील लगायतका बोटबिरुवा प्रयोग गरी तयार पारेको गौरा भगवतीको प्रतिमालाई धार्मिक अनुष्ठानका साथ आज गौरा भित्र्याएका हुन् । व्रतालु महिला सामूहिकरुपमा घर नजिकको खेतमा गई ‘फाग’ लगायतका गीत गाउँदै यो प्रतिमा तयार गर्दछन् ।

गौरा भित्र्याई सकेपछि व्रतालु महिलाले गौरी भगवती र महेश्वर (शिव) भगवान्को पूजाअर्चना गर्ने गर्दछन् । पूजामा विशेषगरी व्रतालु महिलाको सहभागिता हुन्छ । यसरी पूजा गर्दा अक्षताका रुपमा प्रयोग हुने ‘बिरुडा’ (पाँचथरीका गोडागुडी)को विशेष महत्व रहेको छ । ‘बिरुडा’लाई गौरा र महेश्वरको प्रसादका रुपमा ग्रहण गर्ने परम्परा रहेको स्थानीय चेतराज भट्ट बताउँछन् । पूजाको काम सकिएपछि छरछिमेकमा प्रसादका रुपमा बाँडिने बिरुडालाई पकाएर खाने चलन रहेको र यसरी खाँदा पेटसम्बन्धी रोग निको हुने जनविश्वाससमेत रहेको छ ।

हिजो विधिपूर्वक भित्र्याइएको गौरा आज सोमबार बाहिर निकालिँदै छ । गौरा खेल्ने र पूजन गरिने सार्वजनिक ठाउँ, जसलार्इ गौरे-खलारखालो भनिन्छ । त्यहाँ गौरी-महेरश्वरको रुपमा बनाइएको प्रतीमालार्इ दिनभर महिलावर्गले पूजन गर्छन्, जसलार्इ ‘अठवाली ‘अठेवाली’ भनिन्छ । हिजै व्रतालु महिलाहरुले धागोमा सात गाँठा पारिएको विशेष सूत्र ‘सप्तुन/सप्तमी’ धारण गरेका छन् भने आज पनि बिहानैदेखि व्रत बसी दिनभरि गौरी-महेश्वरको पूजा गरेर बेलुकीपख ‘धुबधागो’ धारण गर्नेछन् ।

यसअघि भाद्र पञ्चमी तिथिका दिन धार्मिक अनुष्ठानका साथ प्रत्येक घरमा तामाको भाँडामा पाँचथरीको गेडागुडी अर्थात् ‘बिरुडा’ भिजाएर राख्ने गरिन्छ । भिजाइएको बिरुडालाई नजिकको नदी, तलाउ तथा धारामा लगेर धुने विभिन्न ‘फाग’ सहित पूजा गर्ने चलन रहिआएको छ । आज नदी, तलाउ तथा धारमा यसरी मनाइने गौरालाई स्थानीय भाषामा ‘नानी गौरा’ र ‘नो’ लाई गौरा भन्ने चलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *