आकस्मिक बाहेक आज देशभरका अस्पतालमा सबै सेवा ठप्प, काउन्सिलमा लाइसेन्स फिर्ता गर्ने कार्यक्रम पनि !

काठमाडौं, १७ भदौ । नेपाल चिकित्सक संघको आन्दोलनका कारण आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प भएको छ । चिकित्सकहरुले आजै नेपाल मेडिकल काउन्सिलमा लाइसेन्स फिर्ता गर्ने कार्यक्रम पनि राखेका छन् ।

भदौ एक गतेदेखि कार्यान्वयमा आएको मुलुकी फौजदारी संहिता संशोधनको माग गर्दै संघले आन्दोलनको घोषणा गरेको हो । संघले आज १० बजे माइतीघर मण्डलामा भेला भई मेडिकल काउन्सिल गएर प्रमाणपत्र फिर्ता गर्ने जानकारी दिएको छ ।

संघले देशभरका चिकित्सकहरुलाई भदौ १५ सम्म आफ्नो प्रमाणपत्र बुझाउन आह्वान गरेको थियो । सरकारले मुलुकी ऐन संशोधनको आश्वासन दिएपछि भदौ एक देखि गर्ने भनिएको आन्दोलन रोकिएको थियो ।

अहिलेसम्म ३ हजार बढी चिकित्सकले आफ्नो प्रमाणपत्र संघको कार्यालयमा जम्मा गरिसकेका छन् । प्रमाणपत्र बुझाएपछि मेडिकल काउन्सिलले लिस्टबाट नाम नहटाएसम्म डाक्टरहरुले उपचार गर्न सक्छन् । तर, आगामी बिहीबारदेखि भने देशभरमा अस्पतालहरुमा आकस्मिक बाहेक सबै सेवा बन्द गर्ने घोषणा चिकित्सक संघले गरेको छ ।

मुलुकी फौजदारी सहितामा उपचारका क्रममा लार्पवाहीले विरामीको मृत्यु भएमा ज्यान मुद्दा चलाउने प्रावधान छ । चिकित्सक संघले भने त्यसलाई संशोधन गरेर लार्पवाही भए नभएको विज्ञ समूहले अध्ययन गर्ने थप गर्न माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *