पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई ज्यान मार्ने धम्की

पाकिस्तानी पत्रकार सदिया अफजलले प्रधानमन्त्री इमरान खानलाई ज्यान मार्ने धम्की आएको बताएकी छिन् । गत शुक्रबार राति उनले पाकिस्तानको आतंकवादी संगठन ‘तहरिक ए तालिवान’ले खानलाई मारिदिने धम्की दिएको एक न्युज टेलिभिजनमार्फत सार्वजनिक गरेकी थिइन् ।

पत्रकार अफजलले उक्त समाचार एकदम विश्वसनिय स्रोतबाट आएको र प्रधानमन्त्री खानले आफ्नो सुरक्षा प्रबन्धलाई विशेष ख्याल राख्नुपर्ने बताएकी थिइन् । त्यस्तै खालको टवीट एक अर्की पत्रकार जस्मीन मन्जुरले पनि गरेकी छिन् ।

पाकिस्तानमा प्रधानमन्त्री बने लगत्तै खानले आफ्नो सुरक्षा भन्दा जनताको सुरक्षा महत्त्वपूर्ण रहेको बताएका थिए । खानलाई यस्तो प्रकारको धम्की आएको पहिलोपटक भने होइन । गत अप्रिलमा पनि खानलाई मारिदिने धम्की दिइएको थियो ।

प्रधानमन्त्री बनेपछि व्यापक सुधार गर्ने र पाकिस्तानलाई राजनीतिक संक्रमणबाट छुटकारा दिलाएर आर्थिक विकास गर्ने घोषणा गरेका खानको सुरक्षालाई महत्त्वपूर्ण दृष्टिकोणले हेर्ने गरिएको छ । कुनै बेला अमेरिकाको सैनिक साझेदार रहेको पाकिस्तान बिस्तारै चीनतर्फ ढल्किएपछि पश्चिमा शक्तिहरूको निशानामा पाकिस्तान पर्दै आइरहेको छ ।

यस भन्दा अघि पाकिस्तानकी नेतृ बेनजिर भुट्टोको चुनावी र्र्यालीका क्रममा २००७ को डिसेम्बरमा हत्या भएको थियो । उनी पाकिस्तानकी पहिलो महिला प्रधानमन्त्री भएकी थिइन् । उनको हत्याको आरोप अहिले पनि उनका पति असिफ अलि जर्दारी र जनरल परवेज मुसर्रफलाई लाग्दै आएपनि पुष्टि हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *