उपमहानगरपालिकाले सडकका खाल्डाखुल्डी पुर्ने अभियान चलायो

नेपालगञ्ज/तीन वर्ष अघि निर्माण सम्पन्न नेपालगञ्जको राँझादेखि जमुनहासम्मको सडकमा परेका खाल्डाखुल्डी नेपालगञ्ज उपमहानगरपालिकाले पुर्न थालेको छ । सडकको दयनीय अवस्थाका कारण नेपालगञ्ज उपमहानगरपालिकाले अहिले सडकका खाल्डाखुल्डी मर्मतमा लागेको हो । “खाल्डाखुल्डीमा परेर सवारी साधन दुर्घटना भयो नागरिकको ज्यान नै सङ्कटमा पर्ने कुरालाई दृष्टिगत गरी मर्मतको काम शुरु गरेका हौँ”, कार्यवाहक नगर प्रमुख प्रमोद रिजालले बताए । एशियाली विकास बैंकको ऋण सहयोगमा सडक डिभिजन कार्यालयमार्फत चार लेनको सो सडक निर्माण गरिएको हो । पप्पु निर्माण कम्पनीले बनाएको यो सडक शुरुवाती चरणमै कमसल खालको बनाएको भन्दै स्थानीय राजनीतिक दल र नागरिक समाजले विरोध जनाएका थिए । कुल ६ किलोमिटर लम्बाइको यो सडकको कैयौँ स्थानमा खाल्डाखुल्डी परेको छ । वर्षातमा परेको पानी सडकबाट नालामा झर्दैन । हस्तान्तरण नहुँदै अरू निकायले निर्माण गर्न नपाउने नियम छ । निर्माण कम्पनीले समयावधि बितिसक्दा पनि सङ्घीय सरकारलाई सडक हस्तान्तरण नगर्दा स्थानीय सरकारले सडक मर्मत गर्नुपरेको छ । हस्तान्तरण नगर्दै सडक जीर्ण बन्दै गएका कारण नेपालगञ्ज उपमहानगरपालिकाले सडकका खाल्डाखुल्डी पुर्ने अभियान नै चलाएको हो । नगरपालिकाको अभियानमा नागरिकले पनि साथ दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *