उपचार खर्च तिर्न नसकेर डेढ वर्ष देखीअस्पतालमै बन्धक छन् सुरज

  • सुरज वि.क. २०७४ जेष्ठ १४ गतेदेखी हालसम्म बुटवलस्थित जेनस हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को कोठा नम्बर १५ मा उद्दारको पर्खाइमा बसिरहेका छन् ।

शिव डुम्रे / बुटवल,  उपचार गर्दागर्दै अस्पतालको विल तिर्न नसक्दा के हुन्छ ? नेपाल सरकारले उपचार गर्न नसकेर कोही मर्नु पर्दैन भनेर भनिंरहँदा विरामीहरु उपचार खर्च तिर्न नसकेर अस्पतालकै छतबाट हाम फालेर आत्महत्या गरेको समाचार हरु सुनिरहेकै हो ।

बुटवलको एक अस्पतालमा भने विरामीले आफ्नो उपचार खर्च तिर्न नसक्दा डेढ बर्षदेखी अस्पतालभित्रै बन्धक छन् । नवलपरासी प्रतापपुर गाउँपालिका १, गोपीगन्जदेखी एक किलोमिटर भित्र भिट्टाका २१ बर्षिय सुरज वि.क. २०७४ जेष्ठ १४ गतेदेखी हालसम्म बुटवलस्थित जेनस हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को १५ नं. कोठामा छन् ।

साथीको बाईक चलाउँदा दुर्घटना भएर चार ठाउँबाट खुट्टा भाचिँएका सुरजको उपचारको लागि झण्डै ६ महिना लागेपनि त्यसपछि भने उनी ९ महिनादेखी अस्पतालमा विना उपचार बसिरहेका छन् । झण्डै १५ महिनाकोदेखीको अस्पतालको विल झण्डै १२ लाखभन्दा माथि भएपछि परिवारले उक्त विल तिर्न नसक्दा उनी अस्पतालभित्रै बन्धकजस्तै बनेका हु्न् ।

अस्पतालको बेडमा निराश भएका बसेका सुरजले भने ‘बेडपनि छैन्, विरामी आएभने भुईँमा सुत्छु नआउँदा बेडमै सुत्छु, कोही हेर्न आउँदैनन, अस्पतालको गेटबाट बाहिर निस्कन पनि पाईदैन, कति दिन त खाना पनि नआएर भोकै बसे, कहिलेकाही साथिहरुले आउँछन् ।’ सुरजले थपे, ‘पारिवारिक स्थिती निकै नाजुक छ, १ कठ्ठा जग्गापनि दृष्टिबन्धक राखेर १ लाख ल्याएर अस्पताललाई दिएको हो अब १२ लाख तिर्ने कुनै अवस्था छैन ।’ सुरुमा अस्पताले आफूलाई कति खर्च लाग्छ समेत भनेनन्, सुरुमा आफूलाई बाच्न पाए हुन्थ्यो भन्ने भयो तर अहिले पैसा तिर्न सकिन्न अब कहिलेसम्म अस्पतालमा बस्ने ? सुरजले प्रतिप्रश्न गरे ।

पैसा तिर्न नसकेपछि अस्पतालमा समेत आउँन नसकेका उनका बुवा भगवती वि.क.ले भावविव्हल हुँदै आफूसँग कुनै सम्पत्ति नभएकोले आउनसमेत नसकेको बताए । बुवा भगवतीले भने, ‘१ कठ्ठा जग्गा थियो, त्यसलाई पनि पैसा पर्दैन अरु कुनै सम्पत्ति छैन, छोरालाई निकाल्न नसकेर निद्रा र भोक लाग्नै छोडेको छ ।’

अस्पतालका निर्देशक समेत रहेका प्रमुख अर्थाेसर्जन डा. मोहन सिंहले उनलाई उपचार गरेका थिए, सुरुमा उपचार कति लाग्ने समेत भनेनन्, उपचार गरेपछि पैसाको तिर्नको लागि दबाब दिदैं आएका छन्, उनले स्थानीय प्रहरी चौकिमा समेत निवेदन हालेर विरामीका बुवा सम्पर्कमा नआएको भनेपछि अरुसँग २ सय रुपियाँ भाडा मागेर अस्पतालसम्म आएको बुवा भगवती वि.क.ले सुनाए ।

सुरुमा डा. मोहन सिंहले घडेरी लिने भनेपनि पछि घडेरी राम्रो नदेखेपछि त्यसलाई समेत नलिने र आपूmलाई पैसा नै चाहिने बताएको पीडित बुवाले बताए । उनले अहिलेपनि जग्गाको लालपूर्जा साथमै बोकेर हिडेका छन् ।

२ छोरा र एक श्रीमतीसँग बस्दै आएका ६० बर्षिय बृद्ध भगवती वि.क.ले बुढेसकालमा आफूलाई साहारा दिने छोरा नै अस्पतालभित्र बन्धक हुँदा आफू ठूलो पीडामा छन् । ठूलो छोरा आफूसँग छुट्एिर बसेका उनले आफ्नो परिवारको छाक टार्नको लागि आरन चलाउँथे त्यहिपनि बन्द गरेदेखी खानसमेत अप्ठारो परेको छ ।

विरामी सुरजले आफूलाई उद्दार गरिदिन अपिल गरेका छन्, उपचारको खर्च नतिरी बाहिर निस्कन नपाईने भन्दै आफ्नो जीवन बचाईदिन विरामी सुरजले अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *