डलर अहिलेसम्मकै महंगो, अर्थतन्त्रलाई घाटा हुने सम्भावना

काठमाडौँ । बिहीबार डलरको भाउ अहिलेसम्मकै महँगो भएको छ । बिहीबार १ डलरको नेपाली बजारभाउ १ सय १३ रुपैयाँ २५ पैसा पुगेको छ । यसअघि गएको साउन २९ गते डलरको भाउ १ सय १२ रुपैयाँ २९ पैसा पुगेको थियो ।

डलरको भाउ बढेपछि नेपाललाई फाइदा हुने एक क्षेत्र भनेको विदेशमा काम गरिरहेका नेपालीले नेपालमा पैसा पठाउदा मात्रै हो ।डलरको भाउ १ सय १० रुपैयाँ हुँदा विदेशबाट १ डलर रेमिट्यान्स पठाउँदा नेपालीले १ सय १० रुपैयाँ पाउँथे भने अहिले विदेशबाट १ डलर पठाउँदा १ सय १३ रुपैयाँको हाराहारीमा पैसा पाउनेछन् ।

डलरको भाउ बढ्दा केही क्षेत्रमा नेपाललाई फाइदा भए पनि धेरै क्षेत्रमा भने घाटा हुने भएको छ । नेपालले वार्षिक १३ खर्बको बस्तु आयात गर्छ । आयातको आधा भन्दा धेरै सामान डलरमा नै किनेर ल्याउने गरिएको छ । डलरको भाउ बढ्दा आयात हुने सामानको भाउ बढ्न सक्ने भएकोले नेपाललाई घाटा हुने सम्भावना हो ।

नेपाल आउने पेट्रोलियम पदार्थको भाउ पनि बढ्ने पक्का छ ।

‘भारतसँग आफ्नो पेट्रोलियम खानी छैन, उसले पनि डलरमा किनेर डलरमै बेच्ने हो, त्यसैले पेट्रोलियम पदार्थमा निकै नै असर पर्न सक्छ’, राष्ट्र बैंकका कार्यकारी निर्देशक थापाले भन्नुभयो ।

यस्तै डलरमा विद्युत खरिद बिक्री अर्थात पीपीए सम्झौता गरेकोले नेपाल विद्युत प्राधिकरणलाई पनि थप घाटा हुने देखिएको छ । नेपाल सरकारले विदेशीलाई तिर्नुपर्ने ऋण पनि डलरमै तिर्नुपर्ने भएकाले सरकारलाई पनि घाटा नै हुनेछ ।

समग्रमा हेर्दा डलरको भाउ बढ्दै जाँदा नेपालको समग्र अर्थतन्त्रलाई घाटा हुने अर्थ विश्लेषकहरु बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *