विचौलियाका कारण किसान र उपभोक्ता मारमा

चितवन/किसानले उत्पादन गरेको अण्डा उपभोक्तासम्म पुग्दा पाँच ठाउँमा कमिशन लिने गरेको पाइएको छ । विचौलियाका कारण किसान र उपभोक्ता मारमा परेका छन् । लागत मूल्य पाउन किसानलाई मुस्किल परेको छ भने महँगो मूल्य तिर्न उपभोक्ता बाध्य छन् । किसानको फार्मबाट स्थानीय डिलरले अण्डा खरीद गर्छन् । त्यही अण्डा विभिन्न बजारका मुख्य डिलरलाई बिक्री गरिन्छ । मुख्य डिलरले सबडिलर तथा सबडिलरले साइकल वा भ्यानमा बिक्री गर्नेलाई दिन्छ । साइकल र भ्यानमार्फत पसल–पसलमा बिक्री गरिन्छ भने पसलबाट उपभोक्ताले अण्डा खरीद गर्दै आएका छन् ।

नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार फार्मबाट ठूलो अण्डा प्रतिक्रेट रु २६० तथा मध्यम अकारको अण्डा प्रतिक्रेट रु २०० मा बिक्री गरिन्छ । बजारमा प्रतिगोटा अण्डा रु १५ सम्ममा बिक्री हुन्छ । सङ्घले प्रतिगोटाको रु १२ खुद्रा मूल्य तोकेको भए पनि सामान्यतया बजारमा रु १५ भन्दा बढी मूल्यमा बिक्री गरिँदै आएको छ ।

किसानबाट मध्यम आकारको अण्डा ६ रुपैयाँ ६६ पैसामा खरीद गरी उपभोक्तासम्म पुग्दा रु १५ सम्ममा बिक्री गरिन्छ । ठूलो अण्डा ८ रुपैयाँ ६६ पैसामा खरीद गरेर रु १५ भन्दा बढीमा बिक्री गर्ने गरेको पाइएको छ । किसानको फार्मबाट अण्डा प्रतिक्रेट रु पाँच नाफा खाएर बिक्री गरिन्छ । पूर्वी चितवनको अन्नपूर्ण कुखुरा फार्मका सञ्चालक अर्जुन अर्याल विचौलियाका कारण किसान मारमा परेको बताउँछन् ।
नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय सचिव मदन पोखरेल लागत मूल्यभन्दा कममा अण्डा बिक्री गर्नुपर्दा किसान मारमा परेको बताउछन् । एउटा अण्डा उत्पादन गर्न रु १० खर्च हुने गरेको तर बिक्री मूल्य त्योभन्दा कम रहेको उनको भनाइ छ । बर्षेनी किसान थला पर्दै गएका छन् ।

नेपालमा दैनिक ३५ लाख अण्डा उत्पादन हुन्छ । यो पेशाबाट भण्डै एक लाख ७५ हजारले रोजगारी पाएका छन् । कुखुरापालनमा रु ७० अर्बभन्दा बढी लगानी रहेको बताइन्छ । आधाभन्दा बढीमा बैङ्किङ क्षेत्रको ऋण लगानी रहेको छ । सबैभन्दा बढी कुखुरापालन चितवनमा गरिँदै आएको छ । पछिल्लो मुलुकका अन्य जिल्लामा कुखुरापालन व्यवसाय फस्टाउँदै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *