‘डाक्टर केसीको मौसमी आन्दोलनले स्वास्थ्य क्षेत्र धरासायी बन्यो’ – खुमा अर्याल

काठमाडौँ / युनिभर्सल मेडिकल कलेज र गण्डकी मेडिकल कलेजका संचालक खुमा अर्यालले व्यवसायीलाई माफियाको नाम दिँदैमा समृद्धि कसरी आउँछ भनी प्रश्न गरेका छन् ।

जनदिशासँग छोटो कुरा गर्दै अर्यालले मेडिकल कलेजको सीट १५० बाट घटाएर १०० मा सिमित गरिनु भनेको जनतालाई थप मर्कामा पार्नु हो भन्ने टिप्पणी गरेका थिए ।

अर्यालका अनुसार पहिला कलेजहरूले विद्यार्थीबाट पैसा लिएर अस्पतालमा धेरै सुविधाहरूको मूल्य घटाएका थिए भने अहिले अस्पतालमा आउने बिरामीबाट आएको फाइदाले कलेज चलाउनुपर्ने बाध्यता सृजना भएको छ ।

‘पहिला हामीले ओपिडी निशुल्क गरेका थियौं तर अहिले नर्सिङ होमकै हाराहारीमा फी लिनुपर्ने बाध्यता बनेको छ । त्यत्रो भौतिक पूर्वाधारको व्यवस्थापन, बैंकको लोन, कलेजको प्रशासनिक खर्च, अस्पतालको खर्च लगायत सबै हिसाब किताब गर्दा अधिकांश मेडिकल कलेज घाटामा रहेको र सरकारले कानूनमार्फत थप अंकुश लगाउन खोजे सरकारलाई हस्तान्तरण गर्नुको विकल्प छैन’  अर्यालको भनाइ थियो ।

दुई तिहाइको यो सरकारले नीति तथा कार्यक्रममै सरकारले निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने भनेर लागिपरेको छ । व्यवसायीले गरेको लगानी र मेहेनतलाई ‘माफिया’ भन्ने तरिकाले भैरहेको मिडियाबाजीले कसैको भलो गर्दैन । व्यवसायीलाई लगानीको वैकल्पिक बाटो देखाइदिने हो भने मेडिकल कलेजमा टाँस्सिएर बस्न कोही पनि नचाहेको अर्याल बताउँछन् ।

तराईका प्रत्येक दुई जिल्लालाई पायक पर्ने गरेर ५०० भन्दा बढी शैयाको अस्पताल निर्माण गर्नुपर्छ तर अहिलेको सरकारले त्यो गर्न सक्दैन । भएका सरकारी अस्पतालहरू रुग्ण तरिकाले चलेका छन् । आफू संचालक रहेको युनिभर्सल मेडिकल कलेजमा अहिले ७० देखि ८० प्रतिशत भारतीय बिरामी आउने गरेका छन् तर मेडिकल कलेजलाई बिरामीको संख्या पुग्दैन भनेर सीट कटौती गर्नतर्फ लागिएको छ, यसले दीर्घकालीन असर पुर्याउने अर्यालको दावी थियो ।

अर्यालका अनुसार देशभरि बिरामीलाई स्वास्थ्यसेवा दिने अस्पतालहरूको आंकडा निकाल्ने हो भने ८० प्रतिशत भन्दा बढी निजी अस्पताल र मेडिकल कलेजको नाम आउँछ । पहिला व्यवसायीले रहरले स्वास्थ्य क्षेत्रमा लगानी गर्ने गरेको भएपनि अहिले धेरैलाई बाध्यता छ ।

सीटसंख्याको कटौतीले विदेशमा पढ्न जानेहरूको संख्या बढेको त सबैले स्वीकारेका छन् । निजी मेडिकल कलेजसँग भएका पूर्वाधारको अधिकतम उपयोग गर्ने हो भने अपवाद बाहेक धेरैले अहिले भन्दा धेरैको संख्यामा योग्य डाक्टर उत्पादन गर्न सक्ने अर्याल बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *