सरकारी छात्रवृत्तिबाट अन्य मुलुकमा अध्ययन

काठमाडौं, सरकारी छात्रवृत्ति कार्यक्रमअन्तरगत छिमेकी मुलुक चीनमा १०० भन्दाबढी नेपाली विद्यार्थीले अध्ययन तथा अनुसन्धानका लागि छनौट भएका छन् ।सन् २०१८ का लागि सो छात्रवृत्ति प्राप्त गर्ने नेपाली विद्यार्थी चीनका प्रसिद्ध विश्वविद्यालयमा विद्यावारिधि, स्नातकोत्तर र स्नातक तहमा अध्ययन गर्नेछन् ।

एक समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि चिनियाँ राजदूत यु होङ्गले सो छात्रवृत्ति प्राप्त गर्न सफल नेपाली विद्यार्थीलाई छात्रवृत्तिको औपचारिकपत्र प्रदान गरे ।गत वर्षसम्म चीन सरकारबाट छ हजार ४०० नेपालीले छात्रवृत्ति प्राप्त गरिसकेका छन् । यो वर्ष चिनियाँ सरकारले चिकित्सा विज्ञान, इञ्जिनियरिङ, हवाई उडड्यन, जलस्रोत इञ्जिनियरिङ, व्यवस्थापन प्रशासन, सार्वजनिक स्वास्थ्य, चिनियाँ भाषा र अन्य विधामा नेपाली विद्यार्थीलाई छात्रवृत्ति पुरस्कार प्रदान गरेको छ ।

सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले कुनै पनि मुलुकको सामाजिक तथा आर्थिक रुपान्तरणका लागि शिक्षा एउटा सशक्त हतियार भएको चर्चा गर्दै यस्ता छात्रवृत्ति कार्यक्रमबाट विद्यार्थी मात्र नभई सिङ्गो मुलुक लाभान्वित हुने बताए ।मन्त्री पोखरेलले भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन निर्माणमा चिनियाँ सरकारको सहयोगको प्रशंसा गर्दै दुवै देशले एकअर्काको सार्वभौमसत्ताको उच्च सम्मान गरेको र दुई देशबीचको सम्बन्धमा हालसम्म कुनै आँच नआएको बताए ।

नेपाल सधैँ एक चीन नीतिको पक्षमा रहेको उल्लेख गर्दै उनले चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रष्ट पारे ।चिनियाँ राजदूत होङ्गले चीन नेपालको मुख्य आर्थिक साझेदार भएको र दुई देशबीच धेरै क्षेत्रमा सहयोग र सहकार्य निरन्तर सकारात्मक दिशामा अगाडि बढेको उल्लेख गर्दै आगामी दिनमा पनि नेपाल र चीनबीचको सहकार्य थप मजबुत हुने बताए ।

‘हजार पुस्तक पढ्नु र हजार माइलको यात्रा गर्नु बराबर हो’, भन्ने चिनियाँ उखानको स्मरण गर्दै राजदूत होङ्गले विदेशमा अध्ययन गर्नु भनेको नयाँ ज्ञान, सीप, अनुभव आर्जन गर्नु र समाजको एक जिम्मेवार नागरिक बन्ने मौका भएको बताए ।

पछिल्लो समयसम्म चीनमा विश्वविद्यालयको सङ्ख्या कूल दुई हजार ८७९ पुगेको छ भने उत्कृष्ट विश्वविद्यालयको संख्या ३८ छ । यसरी सरकारी छात्रवृत्ति प्राप्त गरेर चीनमा अध्ययन गर्न जाने नेपाली यिनै ३८ विश्वविद्यालयमध्येमा जाने गर्छन् । जनवादी गणतन्त्र चीन सरकारले सन् १९५८ देखि नेपाली विद्यार्थीलाई छात्रवृत्ति वितरण प्रदान गदै आएको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *