काठमाडौँ,११ भदौ । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारलाई हतारमा विधेयक नल्याउन आग्रह गरेका छन् ।
सरकारले ल्याएको ‘अनिवार्य तथा निःशुल्क शिक्षाको व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथि सोमबार काठमाडौंमा आयोजित सरोकारवालाहरुसँगको सामूहिक छलफलमा बोल्दै गगन थापाले हतारोमा निर्णय नगर्न ध्यानाकर्षण गराएका हुन् ।
अनिवार्य तथा निःशुल्क शिक्षाको व्यवस्था गर्नुअघि राज्यसँग लगानी गर्ने क्षमता कति छ भनी विश्लेषण गर्नु जरुरी रहेको उनको भनाइए छ । सरकारले ल्याएको अनिवार्य तथा निःशुल्क शिक्षाको व्यवस्था गर्न बनेको विधेयकमा कक्षा ८ सम्मको शिक्षालाई निःशुल्क गर्ने प्रावधान राखिएको छ । नेता थापाले बजेट नहेरी हचुवाको भरमा निःशुल्क शिक्षाको घोषणा गर्ने काम सरकारले गर्न नहुने पुष्टी गरेका छन् ।
पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका थापाले शिक्षालाई संवैधानिक व्यवस्था अनुसार मौलिक हकको रुपमा स्थापित गराउन व्यापक छलफलको आवश्यकता रहेको भन्दै सार्वजनिक शिक्षालाई सुधार गर्दै अघि बढाउने नीति लिन पनि सरकारलाई सचेत गराएका छन् ।
निःशुल्क शिक्षा दिने व्यवस्था लागु गर्न सार्वजनिक शिक्षालाई बलियो बनाउन सक्नु पर्नेमा उनले जोड दिएका छन् ।