अन्तिम खेलमा सन्दीप

अन्तिम खेलमा सन्दीप

काठमाडौँ,११ भदौ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) सँगको यात्रा टुंगाएका छन् ।

सन्दीपले शनिबार सीपीएल सँगको अन्तिम खेलमा राम्रो प्रदर्शन गर्न नसके पनि उनको टोलीले बारबाडोस ट्रिडेन्ट्समाथि ६ विकेटको सानदार जित हात पार्‍यो ।४ खेलमा ७ विकेट लिइसकेका सन्दीपले बारबाडोससँग भने सम्झनालायक प्रदर्शन गर्न सकेनन् । उनले आफ्नो ४ ओभरमा ४३ रन खर्चन पुगे । उनको बलमा ३ छक्का प्रहार गरिएको थियो । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका बारबाडोसका कप्तान जेसन होल्डरले उनको बलमा पहिलोपल्ट छक्का प्रहार गरेका थिए ।होल्डरले ५४ रन बनाए पनि बारबाडोसले २० ओभरमा ६ विकेट गुमाई १ सय ४७ रनमात्र बनाउन सकेको थियो । ब्रान्डोन किङले ६० रन बनाएपछि सेन्ट किट्सले ७ बल अगाडि लक्ष्य पूरा गर्‍यो । ५ खेलमा तेस्रो जित हात पारेको सन्दीप समावेश सेन्ट किट्स तेस्रो स्थानमा छ । जमैका तल्हवाज ८ अंकसहित शीर्षस्थानमा छ । जमैकाले भन्दा सेन्ट किट्सले २ खेल कम खेलेको छ ।

सीपीएलका यसअघिको खेलसम्म सन्दीपले प्रतिओभर ५ भन्दा मुनि रहेर मात्र रन खर्चेका थिए । शनिबारको कमजोर प्रदर्शनपछि सन्दीपको इकोनोमी ६ भन्दा माथि पुगेको छ । सेन्ट किट्सबाट ५ खेलसम्म उनी र सेल्डोन कोट्रेलको समान ७ विकेट छ । उनीहरू सर्वाधिक विकेट लिनेमा पाँचौं स्थानमा छन् ।क्यारेबियनबाट सन्दीप मंगलबार एसिया कप छनोटका लागि मलेसिया पुग्ने कार्यक्रम छ । नेपालले एसिया कप छनोट जितेमा सन्दीपले सीपीएलमा थप खेल खेल्ने छैनन् । नेपालले जित्न नसकेमा तथा सेन्ट किट्स प्ले–अफमा पुगेमा सन्दीप पुनस् सीपीएल खेल्न क्यारेबियन लाग्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *