काठमाडोँ,१० भदौ । जाकर्ता १८ औं एसियाली खेलकुदमा भारोत्तोलन अन्तर्गतको जेआइ एक्सपोमा आइतबार भएको प्रतिस्पर्धामा महिला ७५ केजीमा नेपालकी तारादेवी पुनले ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्।
आफ्नै नाममा रहेको कीर्तिमानमा भंग गर्ने क्रममा स्न्याचमा ७४ केजी, क्लिन एन्ड जर्कमा १०१ केजी र कुलमा १७५ केजी उचालिन्। यसअघि स्न्याचमा ताराको नाममा ७३ केजीको कीर्तिमान थियो। ताराले स्न्याचमा तेश्रो लिफ्टमा कीर्तिमान रचेकी हुन्। पहिलो लिफ्टमा ७० केजी उठाएकी तारा दोश्रो लिफ्टमा ७४ केजी भार वहन असफल रहिन्। तेश्रो लिफ्टमा मात्र तारा ७४ केजी वजन उचाल्न सफल भएकी थिइन्।
क्लिन एन्ड जर्कमा ९७ केजी र कुलमा १७० केजीको कीर्तिमान पनि ताराकै नाममा थियो। तीनै कीर्तिमान ताराले नेपालगन्जमा गत जेठमा भएको एसियाली खेलकुदको छनोटमा राखेकी थिइन्। क्लिन एन्ड जर्कमा ताराले तीन लिफ्टमा क्रमशः ९३ केजी, ९८ केजी र १०१ केजी भार वहन गरेकी थिइन्। ताराले दोश्रो लिफ्टमै आफ्नो ९७ केजीको कीर्तिमानमा सुधार गरिसकेकी थिइन्।
भारोत्तोलनमा नेपालको प्रतिस्पर्धा सकिएको छ। तारासहित ४ खेलाडीले भारोत्तोलनमा प्रतिस्पर्धा गरेका थिए। त्यसमा सन्जु चौधरी र कमलबहादुर अधिकारीले पनि राष्ट्रिय कीर्तिमान बनाएका छन ।
उनले भारतमा भएको साग गेम्समा कास्य पदक हात पारेकी थिइन्।