८१ घण्टा १६ मिनेट बोलेको रेकर्ड टोडेर आफ्नो नाममा पार्न केसीको तयारी पूरा

काठमाडौँ, १० भदौ– सबैभन्दा लामो समयसम्म बोलेर नयाँ विश्व कीर्तिमान बनाउने तयारीमा जुटेका अनन्तराम केसीको अभियानको सम्पूर्ण तयारी पूरा भएको छ । केसीले सोमबारदेखि गोकर्णेश्वर–५ स्थित ईस्ट पोल मा.वि.मा बिहान ६ बजेदेखि अभियान शुरु गर्न सम्पूर्ण तयारी पूरा भएको कार्यक्रमको संयोजन गरिरहेका न्यू माइण्ड्स एकेडेमिका अध्यक्ष कुमारराज सुवेदीले जानकारी दिएका छन् । राष्ट्रिय गौरवसँग जोडिएको यो अभियानलाई सम्भव भएसम्म तन, मन र धन सबै किसिमले सहयोग गर्न उनले आह्वान गरेका छन् । अध्यात्मको खोज र अनुसन्धानबाट मनोशक्तिको अभ्यासमा लाग्नुभएका केसीले अघिल्लो वर्ष ८० घण्टासम्म बोलेका थिए । त्यसबेला प्राविधिक कारणले गिनिज वल्र्ड रेकर्डस्ले प्रमाणीकरण नगरेपछि यसवर्ष विगतको गल्तीबाट सिकेर नयाँ कीर्तिमानको तयारी गर्न थालेका हुन् । शिक्षण पेशा छोडेर मनोशक्तिको अभ्यास र खोज तथा अनुसन्धानमा लागी त्यसको तालीम समेत दिने गरेका केसीले यसपटक ‘विश्वले चिन्ने छ, नेपालीलाई’ भन्ने नारासाथ नयाँ कीर्तिमान कायम गर्न लागेका हुन् । केसीले न्यूनतम ८० घण्टा र बढीमा १०० घण्टासम्म लगातार बोल्ने बताएका छन् । आफूले बोल्ने विषय केवल बोल्नका लागि नभएर त्यसले समाजलाई केही सन्देश दिने खालको पनि हुने बताउँदै विभिन्न्न विधा समेत छनोट गरिसकेको जानकारी दिएका छन् । नुवाकोट जिल्ला चिसापानीमा जन्मेर काठमाडौँको जोरपाटीलाई कर्मथलो बनाएका केसीले अघिल्लो वर्ष लगातार ८० घण्टा ४ मिनेट भाषण गरी विश्व कीर्तिमान बनाएका थिए । तर त्यसलाई प्रमाणीकरण गरिएको थिएन । अहिले भारत केरेलाका केपी भाल साराजानको नाममा लगातार ८१ घण्टा १६ मिनेट बोलेको अभिलेख (रेकर्ड) गिनिज वल्र्ड रेकर्डमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *