कोशीटप्पुमा एक दशकपछि चार ढोई गर्भिणी भएपछि आरक्षका कर्मचारी खुशी

सुनसरी, १० भदौ– सुनसरी जिल्लाको कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पालिएकाका एक दशकपछि चार ढोई (पोथी हात्ती) त्यहाँ आउने जङ्गली हात्तीको संसर्गबाट गर्भिणी भएका छन् ।

विगत दश वर्षदेखि थारो रहेका आरक्षका हात्ती एकै पटक गर्भिणी भएको उक्त आरक्षले जनाएको छ । कोशी टप्पुमा हात्तीको सङ्ख्या न्यून हुँदै गएका बेला चार ढोई गर्भिणी भएपछि आरक्षका कर्मचारी खुशी भएका छन् ।

उक्त आरक्षमा रहेका पाँचमध्ये अम्बिकाकली, सरस्वतीकली, शोभाकली र लक्ष्मीकली नाम गरेका हात्ती गर्भिणी भएपछि उत्साहका साथ आफूहरू छावाको प्रतिक्षामा रहेको आरक्षका प्र्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले बताए । संरक्षणमा रहेका ढोईका कारण फिरन्ते जङ्गली हात्ती आरक्ष क्षेत्रमा आउने गरेका जानकारहरू बताउँछन् । गर्भधारणपछि ढोईले १८ देखि २१ महिना भित्र छावा जन्माउने गर्दछ । आरक्षमा १० हात्ती राख्न सकिने व्यवस्था रहे पनि हाल पाँच मात्र छन् ।

उक्त आरक्षबाट चितवन राष्ट्रिय निकुञ्जमा लगिएका दमदमकली र सरस्वतीकली २८ वर्षपछि विसं २०६३ मा कोशीटप्पुमा फिर्ता ल्याइएको थियो । चितवानबाट अरु तीन हात्ती फिर्ता हुन बाँकी छन् । चितवनमा हात्ती चढेर जङ्गल सफारी गर्ने पर्यटक बढेपछि विसं २०४५ मा ती हात्ती चितवन लगिएको आरक्ष प्रशासनले बताउँदै आएको छ ।

आरक्षको क्षेत्र विस्तार र सुरक्षाका लागि ती हात्ती पनि पूर्वाधार तयार गरेर फर्काइने प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले बताए। हात्तीमा चढेर आरक्ष घुम्न विदेशी पर्यटकका लागि रु दुई हजार र स्वदेशीलाई रु ५ सय राजश्व लिने गरिन्छ । पछिल्लो समय आन्तरिक पर्यटक हात्तीमा शयर गर्न रुचाउन थालेको आरक्षले जनाएको छ । चितवनमा रहेका हात्तीका लागि दाना र माउतेको तलबभत्ता समेत उक्त आरक्षले नै ब्यहोर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *