नेपाल तेक्वान्दो खेलमा आज पनि पदकविहीन

काठमाण्डोँ,०५ भदौ । १८ औँ एशियाली खेलकूदअन्तर्गत तेक्वान्दोको तेस्रो दिन पनि नेपाल पदकविहीन बनेको छ ।

इन्डोनेशियाको जकार्तामा जारी खेलमा तेस्रो दिन नेपालबाट एक पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसमा एक खेलाडीले मात्र पहिलो चरण पार गर्न सफल हुँदा दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए ।

मंगलबार भएको खेलमा महिला ५७ केजी मुनि ज्ञानी चुनारा क्वाटरफाइनलमा फिलिपिन्सकी लोपेज पाउलिन लोइससँग २०–० को फराकिलो अन्तरले पराजित भइन् । त्यसअघि ज्ञानीले पहिलो चरणमा भुटानकी छोदेन किन्जाङलाई २८–६ ले हराउँदै क्वाटरफाइनलमा पुगेकी थिइन् । महिला ६७ केजीमाथिको पहिलो चरणमा ओलम्पियन निशा रावललाई चीनकी गाउ पानले २२–६ ले निराश पारिन् । पुरुष ८० केजीमाथि अनोज पुजारी पहिलो चरणमै सीमित भए । काजाकिस्तानका जापारोभ रुसलानले अनोजमाथि २१–० को सहज जित दर्ता गरे ।

बुधबार नेपालका भूपेन्द्र श्रेष्ठले पुरुष ८० केजीमुनि तथा वीरबहादुर महराले ६३ केजीमुनि तौलसमूहमा खेल्ने तेक्वान्दोका प्रशिक्षक दीपक विष्टले जानकारी दिए । एशियाली खेलकूदमा नेपाललाई सर्वाधिक पदक दिलाएको तेक्वान्दोमा नेपालले हालसम्म एक रजत र १३ कांस्य गरी जम्मा १४ पदक जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *