थारु समुदायले होमस्टे सञ्चालनका लागि सीप सिक्दै

रत्ननगर, ३ भदौ – दक्षिण चितवनको माडी थारु समुदाय सामुदायिक होमस्टे (घरबास) सञ्चालनका लागि सीप सिक्न थालेको छ ।

माडी नगरपालिका–३ बघौडामा होमस्टे सञ्चालनका लागि उनीहरुले विभिन्न क्षेत्रका होमस्टेको स्थलगत अध्ययन थालेका छन् । बघौडा सामुदायिक होमस्टेका संयोजक ओमप्रकाश महतोले नवलपुरको अमलटारीमा रहेको नमूना होमस्टे, देवचुली नगरपालिकामा रहेको पिपरा र बरौली होमस्टे तथा कावासोतीको अमलटारी होमस्टेको भ्रमण गरेर जानकारी लिएको बताएका छन् ।

“साह्रै राम्रो लाग्यो, थारु संस्कृति जोगाउन, जीविकोपार्जन गर्न होमस्टेले फाइदा नै गर्ने रहेछ,” उनले भने, “निम्नस्तरकालाई आम्दानी गर्न निक्कै सहयोगी हुने रहेछ ।” उनले छिट्टै माडी नगरपालिका–३ बघौडामा होमस्टे खोल्ने सोच बनाएको बताए । उनीसँगै बघौडाका अन्य थारु समुदाय पनि होमस्टे सञ्चलालनको बारेमा जानकारी लिन विभिन्न क्षेत्रका होमस्टेको भ्रमण गर्न थालेका छन् । माडी नगरपालिकालगायत विभिन्न सङ्घ संस्थाको सहयोगमा माडीमा पर्यापर्यटनको विकासका लागि होमस्टे थप्ने निर्णय भएपछि यहाँका थारु समुदायहरुको सक्रियता बढेको छ ।

माडी पर्यटन विकास समितिका सचिव गोविन्द न्यौपाने होमस्टेको बारेमा जानकारी नभएकाले उनीहरूलाई भ्रमण गराएको बताए । माडी नगरपालिकाका उपप्रमुख ताराकुमारी काजी महतोको संयोजकत्वमा माडीका थारु समुदायसहितको सहभागितामा शनिबार ४९ जनाको टोलीले होमस्टेको अवलोकन भ्रमण गरेको छ । भ्रमण टोलीमा माडी नगरपालिका–३ का अध्यक्ष पुरन महतो, थारु कल्याणकारीणी चितवनका अध्यक्ष ललित चौधरी, नेपाल जनजाती महासङ्घ माडीका अध्यक्ष रामेश्वर महतो, पर्यटन विकास समिति माडीका सचिव गोविन्द न्यौपाने, सीप नेपालकी अध्यक्ष इन्दिरा विकलगायतको सहभागिता थियो ।

कृषि र इको पर्यटनका हिसाबले महत्वपूर्ण गन्तव्य रहेको माडीमा पर्यटन विकासका लागि थप होमस्टे निर्माणको प्रक्रिया थालिएको नगरपालिकाका प्रमुख ठाकुर ढकाल बताउँछन् । यस वर्ष माडीका आदिवासी जनजाति समुदायका बस्तीमा ४० भन्दा बढी होमस्टे निर्माण गर्ने नगरपालिकाको योजना छ । मुख्यगरी थारु, बोटे र राईका होमस्टे थपिने ढकालले बताए ।

माडीको नगरसभाले होमस्टे बनाउन रु ७५ लाख छुट्याएको छ । माडी नगरपालिका–८ शिवद्धारमा विगत केही वर्षदेखि मगर समुदायको होमस्टे सञ्चालनमा छ । स्थानीय रहनसहन संस्कृतिका साथै मौलिक खाना पाइने र घरायसी वातावरणमा रम्न सकिने गरी होमस्टे निर्माण हुनेछन् । यस वर्ष माडी नगरपालिका–१ वनकट्टामा बोटे समुदायकोे १५, वडा नं ३ बघौडामा १० थारु होमस्टे र वडा नं ९ को राईटोलमा ८ राई होमस्टे निर्माण गर्ने योजना नगरपालिकाको छ । यस्तै शिवद्धारमा रहेको ११ होमस्टेको स्तरोन्नतिसहित ९ थपेर २० पुर्याउने लक्ष्य राखिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *