बहुविवाहः पीडित आफैले ‘डिभोर्स’ माग्दा पीडकलाई उन्मुक्ति

दैलेख । जिल्लाको नारायण नगरपालिका–४ सोतकी २३ वर्षकी चन्द्रा सुनारको विवाह भएको ६ वर्ष पुग्यो । उनका ५ सन्तान जन्मिसके । विवाह भएको पछिल्लो वर्ष पहिलो छोरा, तेश्रो वर्षमा अर्को एक छोरा अनि पाँचौं वर्षमा चाहिँ जुम्ल्याहा २ छोरी भए ।

जुम्ल्याहा छोरीहरू गत चैतमा वर्ष दिनका भएका थिए, एक वर्षमै गत वैशाखमै पाँचौं सन्तान छोरा जन्मियो । छोरा जन्मेको पनि ४ महिना पुग्दै छ, यी भएकै छोराछोरी सम्हाल्न चन्द्रालाई हैरानी छ तर उनका पति वसन्त सुनारले २१ वर्षकी एक युवतीलाई दोस्रो पत्नीको रुपमा भित्र्याएका छन् । शुक्रबार नारायण नगरपालिका–१० भवानीकी संगीता विकलाई दोस्रो पत्नीका रुपमा भित्र्याएका हुन् तर संगीतालाई भारत लैजाँदै गर्दा सुर्खेतबाट पक्राउ गरी उनीहरूविरुद्ध कानुनी कारबाही चलाउन चन्द्राले जिल्ला प्रहरी कार्यालय दैलेख पुग्नुभएको छ ।

प्रहरीले पक्रेपछि पीडित महिलाले नै सम्बन्धविच्छेद गरेर कान्छी हुन आउनेलाई सजिलो बनाइदिने गरेका छन् । यसकारण बहुविवाहका मुद्दा मुस्किलले वर्षभरि ८–१० वटा मात्र चल्ने गरेका छन् । बहुविवाह जस्ता सरकारवादी मुद्दामा समेत राजनीतिक हस्तक्षेप र सामाजिक दबाब सिर्जना गरिने भएकाले आर्थिक प्रलोभनमा केही मुद्दा चल्न नसकेको अधिवक्ता गोपाल बिराजी बताउनुहुन्छ । यसले कानुन कार्यान्वयनमा चुनौती थपेको उहाँको ठम्याइ छ । यो खबर आजको नेपाल समाचारपत्रमा छपिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *