विद्यार्थी भर्नामा राजर्षी गुरुकुलको मौलिकता

  • साहस न्यौपाने

काठमाडौँ । सामान्यतया: विद्यालयहरुले ठूला-ठूला तुल, व्यानर राखेर तथा सञ्चार माध्यमहरुको प्रयोग गरेर विद्यार्थी भर्नाको विज्ञापन गर्ने गर्छन् । आजको प्रतिस्पर्धात्मक यूगमा विज्ञापनको यो पुरानो शैली अपेक्षित प्रभावकारी नदेखिए पनि मूलत: सबैले यही तरिका अपनाएको पाइन्छ । व्यावसायिक प्रतिस्पर्धामा आफ्ना बस्तु तथा सेवाको गुणस्तरीयता कायम गर्नुका साथै प्रचारप्रसारमा समेत नवीनतम सोच र शैलीको प्रयोग अत्यावश्यक बन्दै गैरहेका बेला नेपालको शैक्षिक क्षेत्रमा नाम कमाएको राजर्षी गुरुकुलले भने प्रचारको नयाँ शैली अपनाएको छ ।

हरेक वर्ष शैक्षिक सत्रको पूर्वार्द्धमा नयाँ भर्नाका लागि गरिने प्रचारप्रसारमा आफ्नै मौलिक शैली अपनाउदै आएको राजर्षीले यसवर्ष विद्यार्थी-अभिभावक प्रयोगात्मक अन्तरक्रिया गराएको हो । जसमा विद्यालयको शैक्षिक अवस्थाका बारेमा विद्यार्थीहरुले आफ्ना अभिभावकलाई प्रयोगात्मक शैलीले जानकारी गराएका थिए ।

प्रयोगात्मक र व्यावहारिक शिक्षण पद्धतिद्वारा अध्यापन गराउने विद्यालयको रुपमा चर्चा कमाएको राजर्षी गुरुकुलले नयाँ विद्यार्थीलाइ आफ्नो विद्यालयमा आकर्षित गर्न यस्तो मौलिक शैलीको प्रयोग गरेको हो ।

विद्यालयको शैक्षिक अवस्थाका बारेमा लामा र पट्यारलाग्दा भाषण गरेर प्रचार गर्नुभन्दा विद्यार्थीलाई नै आफ्ना अभिभावकसंग अन्तरक्रिया गराउनु उपयुक्त ठानेर यस्तो शैली अपनाइएको विद्यालयका निर्देशक दिनेश भुसालले बताए । लाखौँ खर्च गरेर गरिने विज्ञापन भन्दा आफूहरुले अपनाएको यो शैली धेरै प्रभावकारी हुने भुसालको अपेक्षा छ ।

प्रत्येक विषय र विद्यार्थीको स्तर अनुसारको फरक फरक प्रदर्शनी कक्ष (स्टल) बनाएर अभिभावकलाई विद्यालयको पठनपाठनबारे जानकारी दिन विद्यार्थीहरु स्वयं अग्रसर हुनु आफैमा सकारात्मक पक्ष हो । प्रदर्शनीमा विद्यार्थीहरुले सृजना गरेका विभिन्न शैक्षिक, ज्ञानवर्द्धक तथा जानकारीमूलक सामाग्रीहरु राखिएको थियो ।

अवलोकनका लागि पुगेका अभिभावकहरुलाई न्यानो स्वागत गर्दै विद्यार्थीहरुले प्रदर्शनीमा राखिएका सामाग्रीका बारेमा विस्तृत जानकारी गराएका थिए । अवलोकनकर्ताले सोधेका हरेक प्रश्न र जिज्ञासाको जवाफ दिंदै विद्यार्थीहरुले सिकाइमा आफूलाई अब्बल सावित गरेका थिए ।

नेपालको शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको राजर्षी गुरुकुल एसियाकै उत्कृष्ट विद्यालयका रुपमा परिचित छ । राजर्षीले यसैवर्ष एशियाका अन्य धेरै उत्कृष्ट विद्यालयहरुलाई पछि पार्दै बेस्ट इन्टरनेश्नल स्कुलको उपाधिसमेत जितेको थियो । गत सेप्टेम्बर १५ मा भारतको कोलकातामा सम्पन्न ‘एशियन एजुकेशन लिडरसिप अवार्ड-२०१९’ का लागि छनोटमा परेको राजर्षीले उत्कृष्ट शैक्षिक तथा अतिरिक्त क्रियाकलाप संचालन गरे वापत सो उपाधि हासिल गरेको विद्यालयका अध्यक्ष राजेश चौधरीले जानकारी दिए ।

सन् २०१३ मा स्थापना भएको राजर्षी गुरुकुल प्रगतिशील (प्रोग्रेशिभ) शिक्षण पद्धति अनुसार अध्यापन गराउने विद्यालयको रुपमा समेत चिनिन्छ । विद्यालयले हाल कक्षा १२ सम्मको अध्यापन गराउंदै आएको छ ।

शिक्षा क्षेत्र कोरा व्यवसाय मात्र नभई सेवाको क्षेत्रसमेत भएकाले शैक्षिक गुणस्तरीयता कायम राख्ने सवाल महत्वपूर्ण हुन्छ । तर, पछिल्लो समय च्याउसरी उम्रिएका नीजि विद्यालयहरुले शिक्षा क्षेत्रलाई केवल व्यावसायिक थलोका रुपमा बद्नाम गराइरहेका छन् । विद्यालयलाई कमाउने भाँडोका रुपमा प्रयोग गरिएका छन् ।

शैक्षिक सत्रको सुरुआतसंगै विद्यार्थी भर्नाका नाममा गरिने भद्दा विज्ञापनले विद्यार्थी-अभिभावकलाई अन्योल बनाइरहेका बेला विद्यालयको समग्र अवस्थाका बारेमा जानकारी दिन विद्यार्थी र अभिभावकलाई एकै ठाउँमा भेला गरि प्रयोगात्मक अन्तरक्रिया गराएर राजर्षीले प्रचारको मौलिक शैली पछ्याएको हो ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top