लकडाउन अवधिभर खाद्यवस्तुको होम डेलिभरी गर्न गृहको निर्देशन

काठमाडौं । सरकारले लकडाउन अवधिभर दैनिक उपभोग्य बस्तुको ‘होम डेलिभरी’ दिन उद्योगी/व्यवसायीहरुलाई निर्देशन दिएको छ ।

गृहमन्त्रालयले उपत्यकाभित्र अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थालाई सहज बनाउन सबै स्टोर एवम् बिक्रेताहरुलाई आ-आफ्ना डेलिभरी भ्यानमार्फत सहज आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिने निर्णय गरेको हो ।

बिहीबार उद्योगी/व्यवसायी तथा राजधानीमा सञ्चालित सुपरमार्केट/ग्रोसरी, खाद्य स्टोर तथा महानगरपालिकाका पदाधिकारीलाई बोलाएर मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

गृहले आवश्यक पर्ने डेलिभरी भ्यानको लागि सवारी पास जिल्ला प्रशासन कार्यालयबाट लिनका लागि आग्रह पनि गरेको छ । होम डेलिभरीका लागि टोल फ्रि नम्बर, कार्यालयको नम्बर वा नजिकै रहेका वडा कार्यालयको नम्बरमार्फत उपभोक्तासँग सम्पर्क व्यवस्था मिलाउनसमेत व्यवसायीलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्वारा हस्ताक्षेरित निर्देशनपत्रमा लकडाउन अवधिभर अत्यावश्यक खाद्यवस्तुको आपूर्ति, बिक्रीवितरण तथा व्यवस्थापन सहज बनाउन होमडेलिभरीको व्यवस्था गर्न लागिएको बताइएको छ ।

सामान किन्ने नाममा भिडभाड बढ्ने तथा लकडाउन पालना गर्न अटेर भइरहेकोले होम डेलिभरीलाई प्राथमिकतामा राखिएको गृहको भनाइ छ ।

 

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top