प्रधानमन्त्रीको आश्वासन : स्वास्थ्य उपकरण उपलब्ध हुँदैछन्, धैर्य गरौं

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को परीक्षणका लागि सरकारले पीपीइलगायतका आवश्यक किट उपलब्ध नगराएको भन्दै चिकित्सकहरुले असन्तुष्टि जनाइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै स्वास्थ्य उपकरण उपलब्ध गराउने आश्वासन दिएका छन् ।

कोरोना भाइरसबाट संक्रमित र लक्षण देखिएकाहरुको उपचारमा संलग्न चिकित्सकहरुले व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) लगाउनुपर्ने हुन्छ । तर, नेपालमा पीपीईको अभाव हुँदा चिकित्सकहरु भाइरसको आशंका गरिएको र भाइरसबाट संक्रमित व्यक्तिको उपचारमा संलग्न हुन त्रसित भइरहेका छन् ।

त्यस्तै, कोरोना भाइरसको संक्रमितको संख्या बढेको खण्डमा परीक्षण गर्ने किटको समेत अभाव हुने चिकित्सकहरुले बताइरहेका छन् । साथै हाल काठमाडौंमा मात्रै भाइरस भए नभएको परीक्षण हुने भएकाले देशभर किट पुर्‍याउने चुनौती सरकार समक्ष छ ।

देशभर पीपीई, किटलगायत स्वास्थ्य उपकरण अभाव भएको सार्वजनिक भइरहँदा ट्वीट गर्दै प्रधानमन्त्री ओलीले चिकित्सक र प्राविधिकहरुलाई हाल मौज्दात रहेको सामाग्रीको प्रयोगबाट परीक्षण र उपचारमा संलग्न हुनसमेत आग्रह गरेका छन् ।

‘तपाईहरुकै सिफारिसमा थप सामाग्रीहरु उपलब्ध हुँदैछन्। धैर्य गरौं।’ उनले लेखेका छन् ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सबैले एकजुट भएर लाग्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले सरकार चिकित्सकसँगै रहेकाले चिन्तित नहुनसमेत आग्रह गरेका छन् ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top