पुटिन-कोण्टे फोनवार्ता : सहयोगको लागि इटालीले गरेको अनुरोध स्वीकार

कोरोना भाइरस (कोभिड-१९)को महामारीले सबैभन्दा बढी आक्रान्त बनिरहेको यूरोपियन मुलुक इटालीले रुससंग सहयोगका लागि आग्रह गरेको छ । इटालीका प्रधानमन्त्री जुजेप्पे कोण्टेले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोनमार्फत सहयोगको याचना गरेका हुन् ।

क्रेमलिनलाई उद्धृत गर्दै रसिया टुडेले जनाएअनुसार सहयोगका लागि कोण्टेले गरेको अनुरोध पुटिनले स्वीकार गरेका थिए । समाचारमा उल्लेख भए अनुसार राष्ट्रपति पुटिनले आफ्नो देश चिकित्सकहरुको टोलीसहित मेडिकल र अन्य प्रोटेक्टिभ सामाग्रीहरु पठाउन तयार रहेको बताएका थिए ।

दक्षिणी यूरोपिय देश इटालीमा कोरोना भाइरसको संक्रमण जंगलमा लागेको डढेलो सरह फैलिएको छ । त्यहाँ शनिबार मात्रै करिब ८०० मानिसहरुले ज्यान गुमाएका थिए । कोरोनाका कारण एकैदिनमा मर्नेको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

इटालीमा कोरोना महामारीबाट हालसम्म चारहजार आठसय २५ जनाको ज्यान गैसकेको छ । यो संख्या कोरोनाको उद्द्गमस्थल मानिएको चीनमा भन्दापनि धेरै हो । त्यसैगरी इटालीमा शनिबारसम्ममा ५३ हजार पाँचसय ७८ जना संक्रमित भएका छन् ।

इटालीयन प्रधानमन्त्रीसंगको कुराकानीको क्रममा राष्ट्रपति पुटिनले इटालीयन जनता र त्यहाँको सरकारको समर्थनमा रुस सदैव साथमा रहने विश्वास दिलाएका थिए ।

‘यो शब्दले मात्रै गरिने सहयोग होइन, हामी प्रोटेक्टिभ सामान, मोबाइल स्यानिटाइजर र अन्य मेडिकल सामाग्रीहरु पठाएर सहयोग गर्छौं, पुटिनको भनाई उद्धृत गर्दै समाचारमा भनिएको छ ।

रसियन मिलिटरी चिकित्सकहरुको आठवटा टिम र भाइरस सम्बन्धि बिशेषज्ञहरुको टोली आज (आइतबार) इटालीका लागि प्रस्थान गर्ने तयारीमा रहेको बताइएको छ । रुसको रक्षा मन्त्रालयको आदेश पाउनासाथ् उनीहरु इटालीतर्फ उड्ने छन् ।

‘इटालीयन मित्रहरुको अनुरोधमा राष्ट्रपति पुटिनले के, कति र कस्तो सहयोग पुर्याउन सकिन्छ समयमै पुर्याउन तयार रहेको पुष्टि गर्नुभएको छ’, क्रेमलिनको सूचना शाखालाई उद्धृत गर्दै रसिया टुडेले उल्लेख गरेको छ ।

रुसी राष्ट्रपति पुटिनले नै इटालियन प्रधानमन्त्री कोण्टेलाई पहिला डायल गरेकोसमेत समाचारमा उल्लेख छ ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top