पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देशवासीलाई आस्वस्त पार्दै भने- ‘आत्तिनु पर्दैन, देशलाई ‘लक्डाउन’ गरिने छैन

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कोरोना भाइरस (कोभिड-१९)को महामारी विरुद्धको लडाईमा एकजुट हुन् देशवासीलाई आह्वान गरेका छन् । गत मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै उनले मुलुकलाई ‘लक्डाउन’ नगरिने बताउँदै  नआत्तिनसमेत आग्रह गरेका थिए ।

कोभिड-१९ महामारीको सम्बन्धमा पहिलो पटक टेलिभिजनमार्फत देशवासीलाई सम्बोधन गरेका प्रधानमन्त्री खानले भने, ‘म तपाईहरु सबैलाई यो महामारी फैलिन सक्नेतर्फ सचेत गराउन चाहान्छु, सावधानीपूर्वक यसको सामना गर्न तयारी अवस्थामा रहन पनि आग्रह गर्दछु ।’

कोभिड-१९ बाट संक्रमितमध्ये ९७ प्रतिशतलाई निको हुने र ९० प्रतिशत हल्का विरामी हुने उनले बताएका थिए । तर संक्रमित ४/५ प्रतिशत बिमारीहरु पनि गम्भीर अवस्थामा पुगे मुलुकको हेल्थ केयर सिस्टमका लागि निकै ठूलो भार पुग्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री खानले कोरोना महामारी फैलिए देखिनै छिमेकी चीन तथा इरानसंग सरकारले सम्पर्क गरिरहेको जानकारी दिएका थिए । उनले इरानबाट फर्केका तिर्थयात्रीहरुको पाकिस्तानी सेना र बलुचिस्तान सरकारले गरेको क्वारेन्टाइन प्रयासको प्रशंसासमेत गरेका थिए । अत्यन्त कठिन अवस्थामा यस्तो सत्कर्म गरेर तिर्थयात्रीहरुलाई देशका बिभिन्न ठाउँमा पठाइएको उनको भनाइ थियो ।

चीनबाट पाकिस्तानमा महामारी फैलिन सक्ने त्रासले जनवरी १५ देखिनै सरकार महामारी विरुद्ध एक्सनमा उत्रिएको जानकारी दिँदै उनले त्यसयता करिब नौ लाख मानिसहरुको एयरपोर्टमै भाइरस स्क्रिनिङ गरिसकिएको बताएका थिए ।

पाकिस्तानमा २० वटा कोबिड-१९का केसहरु देखा परेपछि नेसनल सेक्युरिटी कमिटीको बैठक बसेर भाइरस संक्रमित बिभिन्न देशहरुले अपनाएको सुरक्षा व्यवस्थाका बारेमा छलफल भएको पनि उनले जानकारी दिएका थिए ।

पाकिस्तानलाई पनि अन्य देशहरुको झैँ ‘लक्डाउन’ गरिनु पर्ने सुझाव प्राप्त भएको तर आफूले पाकिस्तानको अर्थतन्त्र अति कम्जोर रहेकोले अस्वीकार गरेको उनको भनाइ छ । ‘अमेरिका र युरोपको जस्तो मजबुत अर्थतन्त्र हाम्रो होइन, हामीकहाँ २५ प्रतिशत मानिसहरु अत्यन्त गरिब अवस्थामा छन् ।उनीहरुले दिनदिनै मजदुरी गर्न पाएनन् भने भोकले मर्नेछन्’, उनले भने, ‘भर्खरभर्खर अर्थतन्त्रले सकारात्मक गति लिएको अवस्थामा ‘लक्डाउन’ गर्नु आत्मघाती हुनेछ ।’

‘लक्डाउन’ गर्नुको सट्टा सरकारले सार्वजनिक भेला गर्न प्रतिबन्ध लगाउनुका साथै शैक्षिक संस्थाहरु बन्द गर्न र नेसनल कॉर्डिनेसन कमिटी गठन गर्न जरुरी ठानेको प्रधानमन्त्री खानको भनाइ थियो । उनले नेसनल डिजास्टर म्यानेजमेन्ट अथोरिटीलाई बजेट उपलब्ध गराएर विदेशबाट आवश्यक औषधि र भेन्टिलेटर खरिद गर्ने काम सुम्पेको तथ्यसमेत  खुलाएका थिए ।

चीनले कोरोना महामारीको फैलावटलाई कसरी नियन्त्रणमा लियो भन्ने बुझ्न पाकिस्तानका राष्ट्रपति चीनको भ्रमणमा गएको प्रधानमन्त्री खानले संकेत गरेका थिए । मेडिकल एक्स्पर्टहरुको कोर कमिटीले सरकारलाई विश्वको अनुभवबारेमा बारम्बार सल्लाह दिदै आएको सूचना पनि उनको सम्बोधनमा रहेको थियो ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top