नेपालको लगातार दोस्रो हार, एसियाकप खेल्ने सम्भावना समाप्त

काठमाडौँ । थाइल्यान्डमा जारी एसीसी स्टर्न रिजन टी-२० क्रिकेटको दोस्रो खेलमा नेपालले लगातार दोस्रो हार बेहेरेको छ । आइतबार बिहान भएको खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भएको हो । यसअघि प्रतियोगिताको पहिलो खेलमा मलेसियाले नेपाललाई स्तव्ध बनाएको थियो ।

टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५४ रन बनाएको थियो । १५५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा आएको नेपाल १८.१ ओभरमा १११ रनमा समेटियो ।

नेपालले उत्कृष्ट सुरुआत गरेको थियो । कप्तान ज्ञानेन्द्र मल्ल र युवा खेलाडी कुशल मल्लले ४२ रनको ओपनिङ साझेदारी गरेका थिए । उत्कृष्ट सुरुआतका बाबजुत मध्यक्रमका कुनैपनि व्याट्सम्यान चलन नसक्दा नेपालले लज्जास्पद पराजय भोगेको हो । कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन जोडे । उनले ४३ बलको सामना गर्दै ४ चौका र १ छक्का प्रहार गरेका थिए । त्यस्तै ओपनर कुशल मल्लले १४ बलको सामना गर्दै १९ रन बनाएका थिए ।

तेस्रो नम्बरमा आएका पूर्वकप्तान पारस खड्का आजपनि सस्तैमा आउट भए । पारस ४ रनमै एलबीडब्लू धरापमा परे । अबिनाश बोहराले ७ बलको सामना गर्दै १२ रन जोडे । आरिफ शेखले १० रन बनाए भने उपकप्तान दीपेन्दसिंह ऐरी ८ बलको सामना गर्दै ५ रनमै पेभिलियन फर्किए ।

यसअघि ब्याटिङ गरेको हङकङले राम्रो सुरुवात गरेको थियो । उसका ओपनरले ४७ बलमा ५८ रनको साझेदारी गरेका थिए । उक्त साझेदारी सुशन भारीले ७.५ ओभरमा तोड्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । उनले २६ रन बनाएर खेलिरहेका ओपनर शाहिद वासिफलाई आरिफ शेखको हातबाट क्याच आउट गराएका हुन् । त्यस्तै दोस्रो विकेट सुसानले नै लिएका थिए । उनले अर्का ओपनर निजकात खानलाई ४८ रनमा पेभिलियन पठाएका हुन् । हङकङका मोहम्मद अजिज खान भने २९ रनमा रनआउट भए ।

यसैगरी लेग स्पीनर सन्दीप लामिछानेले २ विकेट लिए । उनले किंचित साहलाई शून्य र जेम्स एट्किन्सनलाई १३ रनमा आउट गराएका हुन् । नेपालका लागि कुशल मल्लले १ विकेट हात पारे ।

लगातार दोस्रो हार बेहोरेको नेपालको एसियाकप छनोट चरणमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top