नीजि क्षेत्रलाई सरकारको आव्हान : कोरोना परीक्षण किट आपूर्तिका लागि सघाउनुस्

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को विश्वव्यापी महामारी फैलिरहेका बेला सरकारले भाइरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाइरहेको छ । नेपालमा कोरोना संक्रमणको अवस्था दर्लागो नदेखिए पनि सम्भावित खतरालाई ध्यान दिंदै मुलुक ‘लकडाउन’ गरिएको छ ।

भाइरसको परीक्षणका लागि आवश्यक पर्ने किट (स्वास्थ्य उपकरण) नहुँदा परीक्षण नै प्रभावित भैरहेको भनिएका बेला सरकारले त्यस्ता उपकरण आपूर्ति गर्न निजी क्षेत्रलाई आह्वान गरेको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले स्थानीय बजारमा उपलब्ध नभएका स्वास्थ्य उपकरण आपूर्ति गर्न निजी क्षेत्रलाई आह्वान गरेको हो ।

बैठकपछि सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले निश्चित दिनभित्र त्यस्ता उपकरण ल्याउन सक्नेहरुसँग समन्वय गरेर आपूर्ति सहज गर्ने निर्णय भएको जानकारी दिए ।

अहिले चिकित्सकहरुले पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई), एन ९५ मास्कलगायत सुरक्षा उपकरण नपाउँदा कोरोनाको शंकास्पद विरामीसमेत जाँच्न नसक्ने अवस्था छ । सरकारले पीपीई भएको बताए पनि चिकित्सकले अहिलेसम्म पाएका छैनन् ।

नेपालमा हालसम्म जम्मा दुई जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । जसमध्ये एकजना उपचारपछि निको भएर डिस्चार्ज भैसकेका छन् भने सोमबार मात्रै नयाँ संक्रमित पुष्टि भएको हो । केही विज्ञहरुले भने आवश्यक मात्रामा उपकरण नहुँदा परीक्षण नै हुन् नसकेकाले संक्रमितको यथार्थ तथ्यांक दिन नसकिने बताउँदै आएका छन् ।

 

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top