खानेपानीको धाराबाट वाइन आएपछि ………

काठमाडौं । जलश्रोतको धनी देश नेपालमा खानेपानीको ठूलो समस्या छ । काठमाडौँमा त झन् खानेपानीको समस्या विकराल छ । एक घण्टा थापेको पानीले एक हप्तासम्म पुर्याउनुपर्ने बाध्यता छ, काठमाडौँवासीलाई ।

एक गाग्रो पानी थाप्न घन्टौं लाइन लाग्नुपर्ने बाध्यात्मक अवस्थामा रहेका हामी के खानेपानीको धाराबाट रेड वाइन आउने कुराको कल्पना गर्न सक्छौ ? कदापि सक्दैनौ । तर, हामीले कल्पनासमेत गर्न नसक्ने त्यस्तै एउटा घटना भएको छ इटालीमा । इटालीको उत्तरी सहर क्यास्टेलभेट्रोमका घर घरमा रेड वाइन आउन थालेपछि त्यहाका बासिन्दा चकित बनेका छन् ।

घटना गत बुधबारको हो । स्थानीय एक वाइन उद्योगमा आएको खराबीका कारण त्यहाँ बोतलमा हाल्न तयार रहेको हजार लिटर वाइन सहरको पिउने पानी आपूर्ति गर्ने पाइपमा लिक भएको थियो । वाइन तीन घण्टासम्म सहरको पानी पाइपमा बगिरह्यो ।

क्यास्टेलभेट्रोका उप–मेयर जर्जिया मेजाक्वीले यस घटनामा २० घर प्रभावित भएको जानकारी दिए । यो घटनाले कुनैपनि स्वास्थ्य समस्या नआउने स्थानीय अधिकारीले बताएका छन् ।

घटनाको लागि जिम्मेबार क्यानटिना सेटेक्यानी वाइनेरीका अनुसार कम्पनीको बोटलिङ लाइनभित्रको सफाई सर्किटको भल्भमा समस्या आएको थियो । सर्किटको भल्भ बिग्रपछि उच्च दवावको कारण वाइन पानीको पाइपमा बग्न थालेको हो ।

क्यास्टेलभेट्रो इटालीको कोरोनाभाइरस प्रभावित उत्तरी क्षेत्रमा पर्छ । त्यो सहरमा विश्वभरका खाना र वाइनका पारखी पुग्ने गर्छन् । हाल भाइरसको डरले आगन्तुकको संख्या ८० प्रतिशतले कमी आएको छ ।

एजेन्सी

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top