कोरोना सन्त्रास : बहुप्रतिक्षित इपिएल स्थगित

काठमाडौँ । आगामी चैत १ गतेदेखि आयोजना हुने भनिएको बहुप्रतिक्षित एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि-२० क्रिकेट प्रतियोगिता स्थगित भएको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रतियोगिता स्थगित गरिएको हो ।

आयोजक इपिएलले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रतियोगिता स्थगित भएको जानकारी दिएको हो । इपिएलका कार्यकारी निर्देशक आमिर अख्तरले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको जानकारी दिए ।

कोरोना भाइरसको त्रासका कारण प्रतियोगितालाई स्थगित गर्नुपरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । विदेशी खेलाडी र नेपाली राष्ट्रिय टिमको खेल तालिका मिलाएर अर्को मिति घोषणा हुने बताइएको छ ।

चौथों संस्करणको इपिएलमा वेस्ट इन्डिजका क्रिस गेल, दक्षिण अफ्रिकाका हसिम अमला लगायत विश्वप्रसिद्ध खेलाडीहरुले सहभागिता जनाउने तयारी थियो । इपिएलमा विभिन्न ६ टिमबीच प्रतिस्पर्धा हुने तय थियो ।

छिमेकि मुलुक चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका ८५ देशमा पुगिसकेको छ । कोरोना संक्रमणबाट ३२ सय ८७ जनाको मृत्यु भइसकेको छ भने ९५ हजार ६ सयमा संक्रमण देखिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा राखेसंगै सरकारले ठूला सभा, सम्मेलन, समारोह आयोजना गर्न रोक लगाउन थालेको छ । यसैलाई ध्यानमा राख्दै इपिएल प्रतियोगिता स्थगित गरिएको हो ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top