कोरोना सन्त्रास : फ्रान्सबाट काठमाडौँ आएकी एक युवतीमा कोरोनाको पुष्टि

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को विश्वव्यापी महामारी फैलिरहेका बेला नेपालमा पनि एक जनामा भाइरस संक्रमण देखिएको छ । चैत ४ गते फ्रान्सबाट नेपाल आएकी एक युवतीमा भाइरस संक्रमणको पुष्टि भएको जनाइएको छ ।

फ्रान्सबाट कतार हुँदै काठमाडौँ आएकी ति युवतीमा कोरोना भाइरस पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले ति युवतीको रिपोर्ट हिजो आएको जानकारी दिए ।

उताबाट आएपछि उनी आफै होम क्वारेन्टाइनमा बसेको र रुघाखोकी लागेपछि स्वास्थ्य परीक्षण गर्दा आइतबार कोभिड–१९ को संक्रमण देखिएको मन्त्री ढकालले जानकारी दिए ।

उनको परिवारका सदस्य र उनीसँग भेटघाट गरेका सबैलाई होम क्वारेन्टाइनमा राखिएको पनि मन्त्री ढकालले जानकारी दिए । उनी होम क्वारेन्टाइनमा रहँदा उनले भेटेका सबैलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिने पनि मन्त्री ढकालले जानकारी दिए ।

१९ वर्षीया ति युवतीको नाम भने गोप्य राखिएको छ । हाल उनलाई उपचारका लागि अस्पताल लगिएको पनि मन्त्री ढकालले बताए । युवतीसँगै विमानमा को-को आएका थिए भन्नेबारे ट्रयाक गरिने पनि उनले जानकारी दिए ।

यसअघि चीनबाट आएका एक जना नेपालीको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । तर, उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top