कोरोना महामारीको पछिल्लो अपडेट : इटाली, स्पेन र अमेरिकाको अवस्था जटिल

४ लाख भन्दा बढी संक्रमित, करिव १९ हजारको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण अहिले विश्वभर फैलिएको छ । बुधबार दिउँसोसम्ममा १९४ देशमा भाइरस संक्रमण देखिएको छ । पछिल्लो समय भाइरस संक्रमणको दर डरलाग्दो गरि फैलिइरहेको छ भने मर्नेहरुको संख्या पनि दिनानुदिन बढिरहेको छ ।

पछिल्लो रिपोर्टअनुसार कोरोना भाइरसका कारण हालसम्म १८ हजार ९ सय २९ जनाको मृत्यु भैसकेको छ भने संक्रमितको संख्या झण्डै ४ लाख २५ हजार पुगेको छ । रिपोर्टका अनुसार १ लाख ९ हजार एक सय ७९ संक्रमित निको भएका छन् भने १३ हजार १ सय १५ जनाको अवस्था गम्भीर छ ।

मृत्यु हुनेको संख्या इटालीमा सबैभन्दा बढी

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या इटालीमा सबैभन्दा बढी छ । बुधबार दिउंसोसम्म त्यहाँ ६ हजार ८ सय २० जनाको मृत्यु भैसकेको छ । इटालीमा संक्रमितको संख्यासमेत ७० हजार पुगिसकेको छ ।

यसअघि इटालीमा गत शनिबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी ७ सय ९३ जनाको मृत्यु भएको थियो । इटालीमा सोमबार ६ सय २ जनाको मृत्यु भएको थियो । त्यस्तै, मंगलबार त्यहाँ ७ सय ४३ जनाको मृत्यु भएको छ ।

भाइरस नियन्त्रणमा चीनलाई सफलता

इटालीपछि कोरोनाबाट मर्नेको संख्या चीनमा बढी छ । बुधबार दिउँसोसम्म चीनमा ३ हजार २ सय ८१ जनाको मृत्यु भएको छ । त्यहाँ हाल ८१ हजार २ सय १८ जनामा भाइरस संक्रमण देखिएको छ । चीनमा ७३ हजार ६ सय ५० संक्रमित निको भएका छन् ।

पछिल्लो समय चीनमा न्यून संख्यामा नयाँ संक्रमित थपिएका छन् भने मर्नेको संख्या पनि न्यून छ । मंगलबार चीनमा थप ४ जनाको मात्रै मृत्यु भएको थियो । त्यस्तै मंगलबार थप ४७ जनामा भाइरसको संक्रमण देखिएको छ ।

स्पेनको अवस्था जटिल

यता स्पेनमा पनि कोरोनाका कारण मृत्यु हुनेको संख्या दिनानुदिन बढिरहेको छ । बुधबार दिउँसोसम्म त्यहाँ झण्डै ३ हजारको मृत्यु भैसकेको छ । स्पेनमा अहिलेसम्म ४२ हजार भन्दा बढी संक्रमित छन् ।

स्पेनमा मंगलबार मात्रै थप ५ सयभन्दा बढीको मृत्यु भएको हो । त्यहाँ ३ हजार ७ सय ९४ संक्रमित निको भएका छन् ।त्यस्तै, संक्रमितमध्ये २ हजार ६ सय २६ जनाको अवस्था गम्भीर देखिएको छ ।

विकराल स्थितितर्फ अमेरिका

विश्व महाशक्ति राष्ट्र अमेरिका कोरोना भाइरसको महाचपेटामा परेको छ । अमेरिकाको भाइरस संक्रमणको अहिलेको अवस्था हेर्दा त्यहाँ विकराल अवस्था आउन सक्ने सजिलै अनुमान गर्न सकिन्छ । अघिल्लो हप्तासम्म निकै थोरैको संख्यामा संक्रमित देखिएको अमेरिकामा मंगलबारसम्म आइपुग्दा त्यो संख्या निकै माथि पुगेको छ ।

बुधबार दिउँसोसम्मको तथ्यांक हेर्दा अमेरिकामा ५५ हजारमा कोरोनाको संक्रमण देखिएको छ भने ७ सय ८४ जनाको मृत्यु भएको छ । अमेरिकामा मात्र ३ सय ७९ संक्रमित निको भएका छन् भने १ हजार १ सय ७५ संक्रमितको अवस्था गम्भीर देखिएको छ । यो तथ्यांक हेर्दा आगामी दिन अमेरिकाका लागि निकै जटिल हुने देखिन्छ ।

गत डिसेम्बरको अन्त्यतिर छिमेकी मुलुक चीनको वुहानबाट शुरु भएको प्राणघातक कोरोना भाइरस (कोभिड-१९)को संक्रमण अहिले विश्वभर फैलिएको छ । चीनमा कोरोना संक्रमण घट्दै गएका बेला यूरोप, अमेरिका लगायतका अन्य मुलुकहरुमा भने अप्रत्यासित रुपमा बढिरहेको छ ।

प्रस्तुत तथ्यांक हामीले ‘वर्ल्डमिटर डट इन्फो’ बाट लिएका हौँ

हेर्नुस् कोरोना महामारीको विश्वव्यापी पछिल्लो अवस्था

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top