कोरोना महामारीको चपेटामा यूरोप : मृत्यु हुनेको संख्या इटालीपछि स्पेनमा बढी

यूरोप यतिबेला कोरोना भाइरस (कोविड-१९) को महामारीको ठूलो चपेटामा छ । कोरोना संक्रमणबाट मर्नेहरुको संख्या यूरोपमा दिनदिनै बढ्दै गैरहेको छ । पछिल्लो तथ्यांकअनुसार यस महामारीको चपेटामा परि ज्यान गुमाउनेहरुको संख्या इटालीपछि स्पेनमा बढी देखिएको छ । स्पेनको सरकारी तथ्यांकअनुसार त्यहाँ बुधबारसम्ममा मर्नेहरुको संख्या ३ हजार ४ सय ३४ पुगेको छ ।

स्पेनको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा मात्रै ७ सय ३८ जनाको मृत्यु भएको छ । स्पेनमा यो २४ घण्टामा ७ हजार ९ सय ३७ नयाँ संक्रमित बिरामीहरु थपिएको रेकर्डले देखाएको छ । मंगलबारसम्म कोविड-१९ का संक्रमितहरुको संख्या ३९ हजार ६ सय ७३ थियो भने बुधबार ४७ हजार ६ सय १० पुगेको छ ।

इटाली र स्पेनपछि पछि कोरोनाबाट मर्नेको संख्या चीनमा बढी छ । बुधबारसम्म चीनमा ३ हजार २ सय ८१ जनाको मृत्यु भएको छ । पछिल्लो समय चीनमा न्यून संख्यामा नयाँ संक्रमित थपिएका छन् भने मर्नेको संख्या पनि न्यून छ । मंगलबार चीनमा थप ४ जनाको मात्रै मृत्यु भएको थियो । त्यस्तै मंगलबार थप ४७ जनामा भाइरसको संक्रमण देखिएको छ ।

कोरोना महामारीका कारण मृत्यु हुनेको तथ्यांक हेर्दा चीनलाई उछिन्ने स्पेन मात्र एक यूरोपियन देश भने होइन । गतहप्ता नै इटालीले चीनलाइ पछाडी पारेको थियो । इटालीमा बुधबारसम्म ६ हजार ८ सय २० जनाले ज्यान गुमाइसकेका छन् ।

स्पेन अहिले स्वास्थ्य समस्यासंग जुधिरहेको विभिन्न अन्तराष्ट्रिय संचार माध्यमहरुले  बताइरहेका छन् । मेड्रिडको पालासिओ दे हिएलो आइस स्केटिङ्ग स्थललाई अहिले शव राख्ने थलोमा परिणत गरिएको छ । शहरका सबै शव गृहहरु लासले भरिएपछि यस्तो गरिएको बताइएको छ ।

मेड्रिडको महानगरीय इलाका सबैभन्दा बढी संक्रमित भएको जनाइएको छ । त्यसपछि बास्क कन्ट्रीमा महामारी तिब्र रुपमा फैलिएको छ ।

विश्वभरका रिसर्चरहरु कोरोना भाइरसका विरुद्ध खोपको विकास गर्ने प्रयासमा छन् । तर यसको परीक्षण हुन र अन्तर्राष्ट्रिय निकायबाट स्वीकृति पाउँन अझै महिनौं लाग्ने बताइएको छ ।

गत डिसेम्बरको अन्त्यतिर छिमेकी मुलुक चीनको वुहानबाट शुरु भएको प्राणघातक कोभिड-१९ को संक्रमण अहिले विश्वभर फैलिएको छ । चीनमा कोरोना संक्रमण घट्दै गएका बेला यूरोप, अमेरिका लगायतका अन्य मुलुकहरुमा भने अप्रत्यासित रुपमा बढिरहेको छ ।

बुधबारसम्ममा १९४ देशमा भाइरस संक्रमण देखिएको छ । पछिल्लो समय भाइरस संक्रमणको दर जति डरलाग्दो गरि फैलिइरहेको छ,मर्नेहरुको संख्या झन् डरलाग्दो गरि बढिरहेको छ ।

(एजेन्सीहरुको सहयोगमा)

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top