कोरोना भाइरस, क्युवा र उसको अन्तर्राष्ट्रिय एक्यबद्धता

ब्रिटिश विदेशमन्त्री डोमिनिक रावले गत मार्च १७ मा त्यहाँको संसदमा बोल्दै क्यारिबियन सागरमा अलपत्र परेको एक ब्रिटिश क्रुजसिपको उद्दार गरेकोमा क्युवा सरकारलाई धन्यवाद दिए । उक्त क्रुजसिपमा कोरोना भाइरसद्वारा संक्रमित भएका यात्रुहरु रहेको आशंका गरिएको थियो ।

विदेशमन्त्री डोमिनिकले मन्त्रिस्तरीय वक्तव्य जारि गर्दै संसदलाई यसको सूचना दिएका थिए । ‘मैले क्युवाका विदेशमन्त्रीसंग सप्ताहान्तमा दुइपटक कुरा गरेँ । कुराकानीका क्रममा क्युवा सरकारले समुद्रमा अलपत्र परेका ब्रिटिश जलयात्रीहरुको सफलतापूर्वक उद्धार गरेकोमा आभार प्रकट गर्दछौं’, डोमिनिकको वक्तब्यमा भनिएको छ ।

क्युवाले ब्रिटिश क्रुजसिप ‘एमएस ब्रेमर’लाई हभानामा किनारा लाग्न अनुमति दिएको र ब्रिटिश प्यासेन्जरहरुलाई घरतर्फ उड्न दिने जनाएको छ । अन्य केही क्यारिबियन देशहरु बहामास, बार्बाड़ोस आदिले भने सो क्रुजलाई आफ्नो समुद्री किनारामा अड्याउन मन्जुरी दिएका थिएनन् । सो क्रुजमा सवार केही यात्रुहरु कोरोना भाइरसबाट संक्रमित भएको आशंकामा ति देशहरुले अनुमति दिन अस्वीकार गरेका थिए ।

संसदमा बोल्दै ब्रिटिश विदेशमन्त्री, उनले कोरोना भाइरसका विरुद्ध क्युवाले खेलेको भूमिकाप्रति धन्यवाद दिए

उता क्युवाको विदेश मन्त्रालयले पनि आफ्नो निर्णय बाहिर ल्याएको छ । ‘यो एक्यबद्धताको समय हो । जनस्वास्थ्य मानव अधिकारभित्र पर्छ भन्ने बुझ्ने र अन्तर्राष्ट्रिय साझा समस्यासंग सबै मिलेर सबैको सहयोगमा जुध्नुपर्ने समय हो । हाम्रा जनताहरुमा मानवीय भावना र मानाबोचित अभ्यासहरु हाम्रो क्रान्तिले नै स्थापित गरेको तथ्य हो’, क्युवाको विदेश मन्त्रालयको वक्तव्यमा उल्लेख छ ।

क्युवाको यस सद्वव्यवहारले त्यस देशको अन्तर्राष्ट्रियतावादी दृष्टिकोण, एक्यबद्धता र मित्रभावको राम्रो चित्र पेश गरेको छ । यो सत्कार्यले क्युवाको अन्तर्राष्ट्रियतावादी धारणा र त्यस देशप्रतिको अमेरिकी दुर्ब्याबहारको भिन्नता स्पष्ट पारेको छ । यस्तो अन्तर्राष्ट्रिय विपत्तिको बेला विश्व जगतले सम्पूर्ण श्रोत र ज्ञान एकत्रित गरेर समाधानका लागि अघि बढ्नुपर्ने बेलामा अमेरिका भने यो सानो टापु राष्ट्रको विरुद्ध ६० वर्षदेखि दुश्मनीपूर्ण कारबाहीमा खटिरहेको क्युवाली विदेश मन्त्रालयको वक्तव्यमा जनाइएको छ ।

क्युवामाथि अमेरिकाले लगाएको नाकाबन्दी त्यस टापु राष्ट्रको आर्थिक विकासकोको मुख्य बाधक हो । क्युवासंग व्यापारिक सम्बन्ध राख्ने देश तथा कम्पनीहरु विरुद्ध अमेरिकी सरकारले लाखौँ डलर जरिमाना लगाउने गर्छ । नाकाबन्दीले क्युवाको जनजीवनसमेत नराम्रोसंग प्रभावित हुँदै आएको छ । यसको प्रत्यक्ष असर अस्पताल र स्वास्थ्य क्लिनिकहरुमा पर्ने गरेको छ । नाकाबन्दीकै कारण औषधि र औजारहरुको कमि हुने गरेको छ ।

अमेरिकी नाकाबन्दीका बाबजुद पनि क्युवाले हेल्थ सर्भिसलाई प्राथमिकता दिँदै आइरहेको छ । क्युवाले अहिलेसम्म आफ्ना नागरिकहरुलाई संसारको सबैभन्दा उत्कृष्ट हेल्थ सर्भिस उपलब्ध गराउदै आइरहेको छ । यस्तो सर्बोत्तम हेल्थकेयर सघन प्राइमरी केयर प्रोग्रामको माध्यमबाट उपलब्ध गराइने गरेको पाइन्छ । त्यतिमात्र होइन क्युवाले आफ्नै ठूलो बायो फर्मास्युटिकल उद्योगसमेत संचालन गरेको छ । जसले उत्पादन गरेका औषधिहरु विश्वका अन्य भागहरुमा खरिद गर्न सकिंदैन ।

कोरोना भाइरसको आशंकामा रहेकाहरुलाई हभानामा ब्रिटिश क्रुजसिपबाट बाहिर निकालिँदै

क्युवाले उत्पादन गरेको बिरलै पाइने त्यस्ता औषधिमध्ये इण्टर्फ़ेरोन अल्फा २ बि पनि एक हो । जसले कोरोना भाइरसको महामारीबाट संक्रमितहरुको ज्यान बचाउन सक्छ । यो औषधि चीनमा क्युवान-चाइनिज ज्वाइण्ट भेन्चर अन्तर्गत उत्पादन गरिएको थियो । सो औषधिका कारण चीनमा एक हजार पाँच सय भन्दा धेरै बिमारीहरुको ज्यान जोगिएको बताइएको छ । यो औषधि चाइनिज नेसनल हेल्थ कमिसनले छनौट गरेको ३३० औषधिमध्ये एक हो । यस औषधिले श्वासप्रश्वास सम्बन्धि समस्यासंग जुध्न मद्दत गर्दछ । अहिले यो औषधि चीनका अलावा दक्षिण कोरिया, पानामा, इटाली र जर्मनीमा समेत प्रयोगमा ल्याइएको छ । संसारका अन्य देशहरुबाट पनि यसको माग भैरहेको समाचारहरुमा आइरहेका छन् ।

क्युवाले भर्खर मात्र इटालियन सरकारको अनुरोधमा चिकित्सकहरुको एउटा ब्रिगेड नै इटाली पठाएको छ । चिकित्सकहरुको उक्त टोलीले त्यहाँ महामारी बनेर फैलिएको कोरोना भाइरसको रोकथामका लागि काम गर्नेछ । क्युवाले केही वर्षअघि पश्चिमी अफ्रिकामा फैलिएको इबोला नियन्त्रणका लागि पनि विश्व स्वास्थ्य संगठनको अनुरोधमा चिकित्सकहरुको टिम पठाएको थियो ।

क्युवा अहिले कोरोना भाइरसविरुद्धको लडाईमा अन्तर्राष्ट्रिय रङ्गमंचमा सबैभन्दा अग्रमोर्चामा देखिएको छ । साथै ब्रिटिश क्रुजमा सवार अलपत्र परेका समुद्री यात्रीहरुलाई सुरक्षा दिएर मानवीयताको क्षेत्रमा पनि आफूलाई अब्बल सावित गरेको छ । यस परिघटनाले क्युवाको अन्तर्राष्ट्रिय एक्यबद्धताको पोलिसीलाई झनै छर्लंग पारेको छ ।

तर यस्तो अन्तर्राष्ट्रिय संकटका बेलासमेत अमेरिकी सरकारले क्युवाका चिकित्सकहरु र औषधिमाथि रोक लगाएर बाधा पुर्याइरहेको छ । ब्रिटिश सरकारले अमेरिकीहरुको यस्तो गलत नीतिको बिरोध गरोस् भन्ने क्युवा सरकारको चाहना देखिन्छ ।

क्युवासंग अनुभव, सिप, ज्ञान, साधन र श्रोत छ । जसले कोरोना भाइरसलाई परास्त गर्न सक्छ । उसको या खुबीलाई उपयोग गर्न अमेरिकी नाकाबन्दी अबिलम्ब हटाउन माग गर्नु अत्यावश्यक भैसकेको छ ।

(ग्लोबलरिसर्च डटकमको सहयोगमा)

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top