कोरोनाबाट मर्नेको संख्या १६ हजार नाघ्यो, अमेरिकामा केही घण्टामै झण्डै २५ सय नयाँ संक्रमित थपिए (हेर्नुस् पछिल्लो अपडेट)

काठमाडौं । छिमेकी मुलुक चीनको वुहानबाट शुरु भएको प्राणघातक कोरोना भाइरस (कोभिड-१९)को संक्रमण अहिले विश्वभर फैलिएको छ । चीनमा कोरोना संक्रमण घट्दै गएका बेला यूरोप, अमेरिका लगायतका अन्य मुलुकहरुमा भने अप्रत्यासित रुपमा बढिरहेको छ । पछिल्लो समय भाइरस संक्रमणको दर डरलाग्दो गरि फैलिइरहेको छ भने मर्नेहरुको संख्या दिनानुदिन बढिरहेको छ ।

मंगलबार साँझसम्मको तथ्यांकअनुसार १९६ देशमा भाइरसको संक्रमण पुगिसकेको छ । प्राप्त पछिल्लो रिपोर्टअनुसार कोरोना भाइरसका कारण हालसम्म १६ हजार ७ सय ५१ जनाको मृत्यु भैसकेको छ भने ३ लाख ८६ हजार ९ सय ६२ जनामा यसको संक्रमण देखिएको छ ।

कोरोना भाइरसका कारण हालसम्म इटालीमा सबैभन्दा बढी मरेका छन् । इटालीमा ६ हजार भन्दा बढीको ज्यान गैसकेको छ । त्यहाँ ६३ हजार ९ सय २७ जना संक्रमित भेटिएका छन् ।

इटालीपछि चीनमा सबैभन्दा बढी ३ हजार २ सय ७७ जनाको ज्यान गएको छ भने स्पेनमा २ हजार ३ सय १८ जनाको मृत्यु भैसकेको छ । त्यसैगरी इरान र  फ्रान्समा क्रमस: १ हजार ९ सय ३४  र ८ सय ६० जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो समय अमेरिकामा कोरोना भाइरसको संक्रमण अप्रत्यासित रुपले बढेको छ । मंगलबार साँझसम्म अमेरिकामा ५ सय ८२ जनाको ज्यान गैसकेको छ । त्यहाँ ४६ हजार १ सय ६८ जना संक्रमित छन् । ब्रिटेनमा पनि कोरोना संक्रमण व्यापक रुपमा फैलिरहेको छ । ब्रिटेनमा ६ हजार ६ सय ५० जनामा संक्रमण देखिएको छ भने ३ सय ३५ जनाको मृत्यु भएको छ ।

अमेरिकामा केही घण्टामै झण्डै २५ सय नयाँ संक्रमित थपिए

विश्व महाशक्ति राष्ट्र अमेरिका कोरोना भाइरसको महाचपेटामा परेको छ । अमेरिकाको भाइरस संक्रमणको अहिलेको अवस्था हेर्दा त्यहाँ विकराल अवस्था आउन सक्ने सजिलै अनुमान गर्न सकिन्छ । अघिल्लो हप्तासम्म निकै थोरैको संख्यामा संक्रमित देखिएको अमेरिकामा मंगलबारसम्म आइपुग्दा त्यो संख्या निकै माथि पुगेको छ ।

मंगलबार केही घण्टामै अमेरिकामा २४ सय ३४ नयाँ संक्रमित थपिएका छन् भने २९ जनाको मृत्यु भएको छ । यो तथ्यांक हेर्दा आगामी दिन अमेरिकाका लागि निकै जटिल हुने देखिन्छ ।

इटालीको अवस्था अकल्पनीय

यूरोपियन मुलुक इटाली कोरोना संक्रमणको केन्द्र वुहान जस्तै बनेको छ । इटालीमा दैनिक सयौंको संख्यामा कोरोनाका कारण मर्नेहरुको संख्या थपिइरहेको छ भने हजारौंको संख्यामा नयाँ संक्रमित थपिइरहेका छन् । इटालीमा ६ हजार भन्दा बढीको ज्यान गैसकेको छ, जुन अन्य कुनैपनि देशको भन्दा निकै धेरै हो ।

इटालीमा कूल संक्रमितमध्ये निकै थोरै मात्र उपचारपछि घर फर्किएका छन् । इटालीमा ५० हजार भन्दा बढी गम्भीर संक्रमित देखिएकोमा मात्र ७ हजार जनाको उपचार सम्भव भएको देखिन्छ ।

भाइरस नियन्त्रणमा चीनलाई सफलता 

कोरोना भाइरसले विश्वव्यापी  महामारीको रुप लिईरहेका बेला चीनले भने भाइरस नियन्त्रणमा सफलता हासिल गर्दै गैरहेको छ । चीनमा ७३ हजार एक सय ५९ जना संक्रमित उपचारपछि घर फर्किएका छन् ।

मंगलबार साँझसम्मको तथ्यांकअनुसार चीनमा सबैभन्दा बढी ८१ हजार एक सय ७१ जनामा कोरोनाको संक्रमण देखिएको छ । पछिल्ला केही दिनयताको तथ्यांक हेर्दा चीनमा नयाँ संक्रमितको संख्या निकै कम छ । मंगलबार त्यहाँ मात्रै ७८ जना नयाँ संक्रमित थपिएका छन् । चीनमा मंगलबार मात्र ७ जनाको मृत्यु भएको छ  ।

प्रस्तुत तथ्यांक हामीले ‘वर्ल्डमिटर डट इन्फो’ बाट लिएका हौँ

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top