कोरोनाका कारण रोजगारी गुमाएका मजदुरलाई केजरीवालले गरे राहत घोषणा

कोरोना भाइरस (कोभिड-१९)को विश्वव्यापी महामारी बढिरहेका बेला छिमेकी मुलुक भारतमा समेत भाइरस संक्रमण तिब्र बनिरहेको छ । संक्रमण तीव्र रुपमा बढ्न थालेपछि त्यहाको सरकारले सोमबारदेखि ‘लकडाउन’ गरेको छ ।

यता, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ‘लकडाउन’का कारण रोजगारी गुमाएका दिल्लीका सबै मजदुरलाई पाँच/पाँच हजार रुपैयाँ दिने घोषणा गरेका छन् । कोरोना महामारीका कारण मजदुरी गुमेका सबै निर्माण कार्यका मजदुरलाई राहत स्वरूप सो रकम दिने निर्णय भएको खबर भारतीय सञ्चार माध्यमले प्रकाशित गरेका छन् ।

दिल्ली बिल्डिङ एन्ड अदर कन्स्ट्रक्सन वर्कर्स बोर्ड (बीओसीडब्लू)मा दर्ता भएका सबै मजदुरले सो राहत पाउने बताइएको छ । बोर्डमा करिब ४ लाख मजदुर दर्ता भएको बीओसीडब्लूका अधिकारीले बताएका छन् ।

‘हामी तपाईंको पीडा पूरै सिध्याउन त सक्दैनौँ’, मुख्यमन्त्री केज्रिवालले भने, ‘तर कुन तरिकाबाट तपाईंको पीडा कम गर्न सकिन्छ भनेर कोशिस गरिरहेका छौँ।’ अहिले सबैको जिन्दगी बचाउन जरुरी भएकोले कठोर कदम चालिरहेको उनले बताए ।

अन्य ज्याला मजदुरी गर्नेलाई भने सरकारले कुनै राहतको प्याकेज घोषणा नगरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । एजेन्सी

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top